तालखोलामा तत्काल अस्थायी पुल बन्ने

पोखरा ।
पोखरा महानगरपाकिला वडा नं. ३२ को तालखोला अहिले उर्लिएको छ । खोला वारपार गर्न बनाइएको कल्भर्ट तीन वर्षअघि भत्किएपछि स्थानीय र विद्यार्थी ज्यान जोखिममा राखेर खोला तर्न वाध्य छन् । बडहरेका २ सय घरधुरीका सदस्य र नजिकैको ब्रह्मरुपा माध्यमिक विद्यालयमा पढ्ने ६० भन्दा बढी विद्यार्थी कल्भर्ट नहुँदा सकसमा छन् ।
कल्र्भटको आधा भाग भत्किएर खोलामै खसोको छ । त्यहाँ राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने वाध्यता छ । हिउँदा सहजै खोला तर्न सकिए पनि बर्खायाममा सकिँदैन । जोखिमपूर्ण कल्भर्टबाट खसे खोलाले बगाएर ज्यान जान सक्ने जोखिम रहेको वडाध्यक्ष अक्कलबहादुर कार्की सुनाउँछन् ।
आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको टोलीले पुल निरीक्षण गरेको छ । मन्त्री रेशमकुमार जुग्जालीले त्यहाँ तत्कालै अस्थायी पुल बनाउन निर्देशन दिएका छन् । तालखोलामा १० दिनभित्रै अस्थायी फलामको पुल बनाउन पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन उनले दिएको उल्लेख गरे ।
पोखरा ३२ का अध्यक्ष कार्कीले वडा कार्यालय, महानगर र मन्त्रालयले समन्वय गरी तत्काल अस्थायी पुल बनाउने जनाए । जोखिमपूर्ण रुपमा आवत जावत गर्नुपर्ने हटाउने सहमति गरेको जानकारी दिए । गत आर्थिक वर्ष पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरे पनि काम भएन । दीर्घकालीन रुपमै समस्या समाधानका लागि पक्की पुल बनाउन पहल गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।
तपाईको प्रतिक्रिया