बेलचौतारामा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

समाधान संवाददाता २०७६ जेठ २६ गते १५:२०

समाधान संवाददाता, दुलेगौंडा

असारको पहिलो साता बेलचौतारामा चौथो फ्रेन्डससिप कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । फ्रेन्डसिप युथ क्लबको आयोजनामा हुने प्रतियोगिता असार १ गते सुरु हुनेछ । शनिबार बेलचौतारामा पत्रकार सम्मेलनको आयोजना क्लबले गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

‘स्वस्थ शरीर र मस्तिष्क निर्माणका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार ११ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष विजय थापाले जानकारी दिए । द्वितीय हुनेले ५५ हजार ५ सय ५५ साथमा मेडल र प्रमाण प्राप्त गर्ने उनले जानकारी दिए । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित समूहलाई पुरस्कारको व्यवस्था गरिएको उपाध्यक्ष राजेश गुरुङले बताए ।

Advertisement

खेलुकुदले युवाहरुबीच आपसमा सद्भाव बढाउनुका साथै स्वस्थ रहन सहयोग पुग्ने क्लबका सल्लाहकार अनिल थापाको भनाइ थियो । कास्की, स्याङजा र तनहुँका गरी ४०–५० समूहको सहभागिता रहने क्लबका सचिव जीवन थापाले बताए । प्रतियोगिता सञ्चालन गर्न ६ लाख ६१ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको कोषाध्याक्ष भरत थापाले जानकारी दिए ।

बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता असार १५ गतेसम्म सञ्चालन हुने छ । २०६७ सालमा स्थापित क्लबले खेलसँगै, सामाजिक सेवा र रचनात्मक कार्य गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया