सुशासन र सामाजिक रुपान्तरण विषयमा अन्तर्राष्ट्रिय सम्मेलन

समाधान संवाददाता २०८० भदौ १३ गते १२:४४

पोखरा ।
पोखराको पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामीण विकास विभागसँगको सहकार्यमा नेपाल समाजशास्त्र संघको आयोजनामा ‘नेपालमा सुशासन र सामाजिक रूपान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि हुने भएको छ । समाज विज्ञानका स्वदेशी तथा विदेशी विद्वानहरूलाई नेपालको परिवर्तनको प्रक्रिया र यसको शासन प्रणालीबारे छलफल र विश्लेषण गर्न मञ्च उपलब्ध गराउने उद्देश्यले संघले सम्मेलन आयोजना गर्ने भएको हो ।

Advertisement


सम्मेलनमा नेपाल, भारत, चिन, बेलायत, जापन, नर्वे, अमेरिका लगायत देशहरुबाट कार्यपत्र सहितको सहभागिता हुने नेपाल समाजशास्त्र संघका अध्यक्ष प्राडा गणेशमान गुरुङले जानकारी दिए । सम्मेलनमा समाज विज्ञानका विभिन्न विषयहरुमा ५० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने छन् । सम्मेलन लुम्लेमा रहेको कृषि अनुसन्धान निर्देशनालयको सभाहलमा सम्पन्न हुनेछ ।


दुई चरणको कार्यक्रम अन्तर्गत पहिलो चरणमा भदौ १५ गते बिहान १० बजे उद्घाटन सत्र र त्यसपछि कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ । आवासीय रुपमा सञ्चालन हुने उक्त ३ दिने सम्मेलनमा १८० जना समाजशास्त्रीहरुको सहभागिता हुने छ । सम्मेलनले समाज विज्ञानका विषयहरुमा स्पष्ट धारणा निर्माण गर्नुको साथै पोखराको पर्यटनलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Advertisement


संस्थाले सुरुआतदेखि नै नेपाली समाजका विभिन्न पक्षहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा गोष्ठीको आयोजना गर्ने, अन्तरक्रिया गर्ने, बहस चलाउने जस्ता कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको छ । संघ नेपालको विभिन्न क्षेत्रमा कार्यरत सबै समाजशास्त्रीहरूको व्यावसायिक संस्था नेपाल समाजशास्त्र संघ नेपाली समाजको अध्ययन, अनुसन्धान, विश्लेषणको साथै समाजशास्त्रको अभिवृद्धिमा समर्पित संस्था हो ।


संघले समाजशास्त्र सम्बन्धी प्राज्ञिक अनुसन्धान गर्ने र समाजशास्त्रीय अनुसन्धानलाई प्रवद्र्धन गर्ने, विभिन्न सामाजिक विषयहरूमा समाजशास्त्रीय बहसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलनहरू आयोजना गर्ने, समाजशास्त्रसँग सम्बन्धित अनुसन्धान प्रतिवेदन, गोष्ठी, जर्नल र पुस्तकहरू प्रकाशन गर्ने, नेपालको समाजशास्त्रको विकासमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने, समाजशास्त्रीहरूको व्यावसायिक अधिकार सुरक्षित गर्न, व्यावसायिक उत्कृष्टता र नैतिकता कायम राख्न सहयोग गर्ने र समाजशास्त्रीहरूको क्षमता अभिवृद्धिको अवसर सिर्जना गर्ने संस्थाका उद्देश्य राखेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया