
जोमसोम ।
अविरल वर्षासँगै आएको कागखोला बाढीले साउन २८ गते साँझ करोडौंको भौतिक सम्पत्ति नष्ट गर्यो । बर्सेनि साउन र भदौमा महिनामा कागखोला बाढीको बहाव उच्च हुने भएपनि यस पटकको बाढीको अनुमान स्थानीयले गरेका थिएनन् ।
बहाव उच्च रहेकाले सवाधानी अपनाउनू भन्ने माथिल्लो गाउँबाट सूचना प्रेषित भए पनि कागबेनीबासीले त्यसलाई सामान्य सम्झिए । बाढीको मानवीय क्षति त टर्यो तर करोडौंको धनमाल र भौतिक संरचनामा क्षति पुग्यो । बाढीले स्थानीयको घर, वडा कार्यालय, ईलाका प्रहरी कार्यालय, आमा समूह भवन, श्राद्धस्थल तथा भवन, बैंक, सवारी साधन, पशुचौपाया, स्याउबारी र सडक ट्र्याकमा क्षति पुर्यायो । जसका कारण कागबेनी गाउँमा पीडामा छ ।
लामो समयदेखि सोही स्थानमा बस्दै आएका कतिपय स्थानीयको उठिबास भएको छ भने कतिपय बिचल्लीमा परेका छन् । उनीहरु भन्छन्, ‘कागखोला बाढी यति ठूलो आपत्ति आउला भन्ने सोच्दै सोचिएको थिएन । थाहा छैन यति ठूलो बाढी कसरी आयो ?’
कागबेनी बाढी बितण्डालाई कतिपयले जलवायु परिवर्तनको असरको रुपमा परिभाषित गरेका छन् । कतिपयलाई बाढी आउनुको कारण खोजिरहेका छन् । आखिर कागबेनीमा यति ठूलो भयावह बाढी कसरी आयो ?
पुलकै कारण बाढीले निकास नपाउँदा पुल माथि पानी थुनिएको र त्यसरी थुनिएको पानीको बाढी एक्कासि पुलसहित आएर तटीय बस्ती सखाप पारेको
कागबेनी गाउँमाथि करिब ५ सय मिटरमा निर्माणाधीन पक्की पुल छ । पुल सम्पन्न हुने चरणमा थियो । जोमसोम कोरला जोड्ने कागखोलामा बनेको राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडकले २०७४ पुस २८ गते पुल बनाउन सुरु गरेको थियो । २ करोड ८८ लाख लागत सम्झौता रहेको पुलको जिम्मा गल्वा रफिना जेभी कन्ट्रक्सनले लिएको थियो ।
पुलको लम्बाई जम्मा २५ मिटर छ । १८ महिनामा सक्नुपर्ने पुल निर्माण कम्पनीको चरम ढिलासुस्तीले अझै सकिएको छैन । पुलको म्याद पटकपटक थपिँदै आएको छ । पछिल्लो समय पुल अन्तिम चरणमा पुग्दासमेत पुलका ठेकेदार पुल बनाउन छाडेर गुमनाम थिए ।
चरम ढिलासुस्ती भएको कागबेनी पक्की पुल कागबेनी गाउँका लागि घातक सिद्ध भएको स्थानीयको निष्कर्ष छ । पुलकै कारण मुक्तिनाथबाट बग्ने कागखोला थुनिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्व अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको बुझाइ छ । उनले यही कुरा बाढी प्रभावित क्षेत्र कागबेनीको अवलोकनमा आएका गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई सुनाए ।
भौगोलिक अध्ययन र बस्तीको कुनै ख्याल नगरी हचुवाको भरमा पुल निर्माण गर्दा बस्ती क्षति भएको गृह मन्त्री श्रेष्ठलाई बताए । उनले वातावरण प्रभाव मूल्यांकन इआइए नगरी ठाँडो खोलामा छोटो पुल बनाउँदा कागबेनी बस्ती उजाडिएको उल्लेख गरे ।
संविधान सभा सदस्य श्रीमाया थकालीको भनाई पनि उस्तै छ । उनले कागखोलामा निर्माणधीन छोटो पुलकै कारण कागखोला बाढी थुनिएर ठूलो बाढी आएको गृह मन्त्री श्रैष्ठलाई बताइन् । पुलकै कारण बाढीले निकास नपाउँदा पुल माथि पानी थुनिएको र त्यसरी थुनिएको पानीको बाढी एक्कासि पुलसहित आएर तटीय बस्ती सखाप पारेको संविधानसभा सदस्य थकालीले सुनाइन् ।
पूर्वअध्यक्ष गुरुङ र संविधान सभा सदस्य थकालीको अड्कल जस्तै कागबेनीका स्थानीयको भनाइ पनि छ । गाउँलेहरुको एकै स्वर छः पुलकै कारण पटकपटक ठूलो आवाजले थुनिएको बाढीले बितण्डा सुरु गरेको छ । उनीहरु पुलको डिपिआर बनाउने इन्जिनियरले वैज्ञानिक अध्ययन नगरी ठेक्का लगाएर काम गर्दा कागबेनी गाउँ विपदको चपेटामा परेको बताउँछन् । उनीहरुले कागबेनीको जियोलोजिकल अध्ययन गरेरमात्र पुल बनाउन करिडोर सडकलाई ध्यानार्कषण गराएका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया