उत्पादनलाई पर्यटनसँग जोडे मुलुक अगाडि बढ्छः मन्त्री धनराज गुरुङ

पोखरा ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटनसँग जोडिए मुलुकको विकास हुने बताएका छन् । सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उदघाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको भनाई उनको छ । तीजलाई स्थानीय उत्पादनसँग जोड्ने प्रयास सह्रानीय भएको उनले उल्लेख गरे । ‘तीजलाई केवल रमाइलो पर्वका रुपमा भन्दा पनि स्थानीय उत्पादनसँग पनि जोड्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको रहेछ, खुसी लाग्यो । पर्यटन विकासको आधार नै अब स्थानीय उत्पादन हो,’ उनले भने ।
पुरुष पानीमाथिको ओभानो भएर समाज परिवर्तन नहुने तर्क उनको छ । बदलिएको समाजमा नबदलिएको विषय बदल्नुपर्ने आवश्यता रहेको उनले औंल्याए । गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराईलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन् ।
पर्यटन परिषदका महासचिव सञ्जयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने उल्लेख गरे । पोखरादेखि मुग्लिनसम्मको सडक निर्माणमा ढिला हुँदा यहाँका पर्यटन व्यवसायी मर्कामा परेको उनले बताए । सरकारले नै इनिसियसन लिएर फास्ट ट्र्याकमा काम गर्नुपर्ने वातावरण मिलाउनुपर्ने आवश्यतालाई उनले औंल्याएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खाँचो भएको बताए । टेवानकी अध्यक्ष कमला गिरीले पहिलो संस्करणको कार्यक्रम भएकाले कमीकमजोरी हुन सक्ने र आगामी दिनमा सुधार गर्दै लैजाने बताइन् । भदौ २५ देखि २७ गते सम्म कोमागाने पार्क लेकसाइडमा हुने तीज सांस्कृतिक महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग प्राप्त भएको जानकारी गराइन् ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्की अध्यक्ष विमला भण्डारी लगायतले बोलेको कार्यक्रममा प्रभातफेरी र्यालीको समेत आयोजना गरिएको थियो । सांस्कृतिक महोत्सवमा प्रदेशका विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादनको प्रदर्शन गरिएको छ ।
तपाईको प्रतिक्रिया