सरकारी अस्पताललाई नै पूरा जीवन

डा. सोमतसिंह तुलाचन ८५ वर्षका भए । उनलाई धेरैले कुशल व्यवस्थापक डाक्टरका रूपमा सम्मान गर्ने गर्दछन् । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ४ पटक सुपरिटेन्डेन्ट भएर सेवा पुर्याए भने सोही अस्पतालमा सञ्चालक समितिका अध्यक्ष भई सेवा गरे । २०१३ सालमा मेजर वीरसिंहद्वारा स्थापित सोल्जर बोर्ड अस्पताल पछि जिल्ला अस्पतालसमेत बन्यो ।
त्यहाँ सोमतसिंह कुनै बेला सर्वेसर्वा थिए । समयको क्रमसँग सो अस्पतालले अञ्चल अस्पतालको रूप लियो । ०४५ सालमा सो अस्पतालले पश्चिमाञ्चल अस्पतालको रूप लिएपछि डा. सोमतसिंहले अस्पतालको भौतिक संरचना थप्ने क्रममा आइसियु पनि थप्ने निर्णय गरे । डा. तुलाचनले पोखरा लगायत मुलुकका अन्य स्थानका स्वास्थ्य क्षेत्रमा ठूलो गुण लगाए ।
वि.सं. १९९५ सालमा मुस्ताङको टुकचेमा जन्मिएका सोमतसिंहका पिता पनि गाउँमा स्वास्थ्य केन्द्र खुलेर औषधी बेच्ने गर्दथे । सोमतसिंहलाई बाल्यकालमा यसको गहिरो प्रभाव प¥यो । उनले त्यसबेला मनमनै सोचे – म पनि ठूलो भएपछि डाक्टर बनेर बिरामीको सेवा गर्ने छु । सोमतसिंह बाल्यकालमा पोखरा आएकाले शिक्षा हासिल गर्ने सुअवसर पाए । पोखरामा ५ कक्षा पढेपछि उनी उच्च शिक्षा हासिल गर्न भारतको आनन्दनगर पुगेर एसएलसी दिए ।
भारतकै गोरखपुरमा आइएस्सी परीक्षा पूरा गरे । २०१८ सालमा कोलम्बो प्लान अन्तर्गत उनले मेडिकल कलेज पढ्नका लागि दक्षिण भारतमा जाने मौका पाए । २०२५ सालमा एमबिबिएस पूरा गरी स्वदेश फर्किए । नेपाल आउनासाथ टेकु सरुवा रोग अस्पतालबाट सेवा आरम्भ गरे । त्यहाँबाट उनी कास्की जिल्ला अस्पताल (हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा आए । त्यस बेला पोखरा अहिलेको जस्तो विशाल सहर थिएन । त्यसपछि उनी परिवार नियोजन संघको क्षेत्रीय प्रमुख बने । यसपछि उनी अमेरिकामा मास्टर इन पब्लिक हेल्थ डिग्री पढ्न गए ।
अमेरिकामा पढाइ भ्याएर नेपाल आउनासाथ उनलाई मुस्ताङ जिल्ला अस्पताल पठाइयो । २०३९ सालमा उनले गण्डकी अञ्चल अस्पतालको प्रमुख जिम्मेवारी पाए । ०४५ सालमा साइनिङ अस्पताल पश्चिमाञ्चल अस्पतालमा विलय गराइएको थियो । आइएनएफबाट भोलेन्टिएर सर्भिस सँगसँगै अस्पतालमा व्यवस्थापन समिति पनि गठन भयो । अस्पतालले फड्को मार्न सुरु भयो । तर डा. तुलाचनलाई ०४८ सालमा कञ्चनपुरमा सरुवा गराइयो । फेरि केही समयपछि उनलाई पोखरा झिकाइयो । उनले डाक्टर, कर्मचारीलाई साथ लिई न्यून शुल्क लिई बिरामीलाई थप सुविधा दिने नयाँ व्यवस्था गरे । सरकारले पनि अनुदानमा वृद्धि गर्न थाल्यो ।
स्वास्थ्य केन्द्रलाई भगवान्को मन्दिर मान्ने हो भने यो सर्वसुलभ र गरिबको पनि पहुँचमा पुर्याउनै पर्छ
०५३ सालमा उनी स्वास्थ्य निर्देशनालयको निर्देशक भए । ०५५ सालमा चौथो पटक उनी क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भए । उनले त्यसबेला योजनाबद्ध ढंगले पोखरालाई चाहिने स्वास्थ्य सेवा थप्ने कार्य गरे । यसका लागि आवश्यक भौतिक सुविधा थप्दै आइसियु सेवा थप्ने कार्य भयो । बिरामीलाई राजधानी जान नपर्ने योजना अगाडि ल्याए । पोखरामा बनाइएको आइसियु सेवाको तत्कालीन स्वास्थ्य राज्यमन्त्री डा. रामवरण यादवले उद्घाटन गरेका थिए ।
डा. तुलाचनले ०६३ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा पुर्याएका छन् । उनीसँग अस्पताल व्यवस्थापनको लामो कुशल अनुभव छ । जसको उपयोग राज्यले गर्नुपर्छ । वि.सं. २०२४ सालमा सरला गौचनसँग वैवाहिक जीवनमा बाँधिएका डा. तुलाचनका २ छोरी र २ छोरा छन् । उनलाई धेरैले आफ्नो प्राइभेट अस्पताल खोल्न सुझाव दिएका थिए । उनी भन्दछन्–स्वास्थ्य क्षेत्र सेवाको पवित्र क्षेत्र हो, आर्थिक लाभ आर्जन गर्ने ठाउँ होइन ।
आज उनले सेवा पु¥याएको पोखराको पुरानो अस्पतालले मेडिकल कलेजका रूपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । तर यो अस्पताल सबै नेपालीको आफ्नो र आत्मीय बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै डा. तुलाचन भन्दछन्– स्वास्थ्य केन्द्रलाई यदि भगवान्को मन्दिर मान्ने हो भने यो सर्वसुलभ र गरीबको पनि पहुँचको विषय बनाइनु पर्दछ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया