मुस्ताङमा साढे १५ लाख राजस्व संकलन

समाधान संवाददाता २०७६ असार ५ गते १२:१८

समाधान संवाददाता
जोमसोम

मुस्ताङमा चालु आर्थिक वर्ष ०७५÷०७६ को जेठ मसान्तसम्म १५ लाख ५१ हजार राजस्व संकलन भएको छ । २४ सय ३२ सवारीलाई कारबाही गर्दा राजस्व संकलन भएको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।

ट्राफिक हवल्दार गेहेन्द्रप्रसाद सिंखडाका अनुसार चालु वर्षको साउनमा ६५ सवारी कारबाही हुँदा ३ हजार ५ सय, भदौमा १ सय ५ सवारी कारबाही हँुदा ६५ हजार, असोजमा ३ सय ८ सवारी कारबाहीमा १ लाख ९६ हजार, कात्तिकमा ४ सय ९९ सवारी कारबाही हुँदा ३ लाख २८ हजार ५ सय, मंसिरमा ३ सय १८ सवारी कारबाही हुँदा २ लाख १२ हजार ५ सय, पुसमा १ सय ३५ सवारी कारबाही हुँदा ८७ हजार ५ सय, माघमा ४७ सवारी कारबाही हुँदा ३० हजार, फागुनमा १ सय ६ सवारी कारबाही हुँदा ६८ हजार ५ सय, चैत्रमा ३ सय १९ सवारी कारबाही हुँदा १ लाख ९३ हजार, वैशाखमा ३ सय ६१ सवारी कारबाही हुँदा २ लाख २३ हजार ५ सय र जेठमा १ सय ७९ सवारी कारबाही हुँदा १ लाख ६८ हजार ५ सय राजस्व संकलन भएको हो ।

Advertisement

ट्राफिक कार्यालय जोमसोमले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा २ हजार ७ सय ३३ सवारी साधनलाई कारबाही गर्दा १७ लाख ६५ हजार राजस्व संकलन भएकोमा चालु वर्ष डेढ लाख राजस्व कमी हुने देखिएको हो ।

ट्राफिक कार्यालयका अनुसार सवारी धनीमा ट्राफिक नियमसम्बन्धी सचेतनाका कारण जरिवानामा कमी भएकाले राजस्वमा कमी आएको हो । सिन्डिकेट खारेजी र मुस्ताङ आउने सवारीले अस्थायी पटके काट्ने गरेको, यसअघि जोमसोमसम्म मात्र दिइने पटके अनुमति यसपटक छुसाङ र मुक्तिनाथलाई पनि दिने गरिएको र बेनी–जोमसोम निर्माणधीन सडकमा टाइम कार्डका कारण कम सवारी साधन भित्रिएकाले पनि राजस्व संकलनमा कमी भएको हो ।

Advertisement

मुस्ताङमा बर्सेनि सयौं सवारी साधन भित्रिए पनि यहाँ ट्राफिकको दरबन्दी छैन । गण्डकी प्रदेश प्रहरीको निर्देशनमा गण्डकी ट्राफिक कार्यालयले मुस्ताङमा ५ जना ट्राफिकलाई काजमा खटाएको ट्राफिक हवल्दार सिंखडाले जानकारी दिए । दरबन्दीसमेत नरहेको मुस्ताङ ट्राफिक प्रहरीको कार्यालय सञ्चालन तथा आवास भवनसमेत छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङले २ वटा भवन लिजमा लिएर ट्राफिक व्यवस्थापन गरेको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया