सामुदायिक स्कुललाई बस किन्न महानगरकाे सहयोग

पोखरा ।
पोखरा महानगरले नगर क्षेत्रका सामुदायिक विद्यालयलाई स्कुल बस किन्न सहयोग गर्दै आएको छ । महानगरले बस किन्न लागतको ५० प्रतिशत रकम दिने गरेको छ ।
बिहीबार महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोट स्थितमा रहेको कालिका माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरे । महानगरले अघिल्ला आर्थिक वर्षमा ८ र यो आर्थिक वर्षमा ६ स्कुल बस हस्तान्तरण गरेको हो ।
पोखरा महानगरमा पछि गाभिएका ग्रामीण क्षेत्रका विद्यालयहरुलाई सहयोग गरिएको हो । ग्रामीण क्षेत्रका स्कुलमा विद्यार्थी कम हुँदै जाने र गुणस्तर पनि कमजोर बनेको गुनासो आएपछि ती समस्या सुल्झाउन महानगर लागेको प्रमुख धनराज आचार्य बताउँछन् । उनी भन्छन्, ‘साना विद्यार्थीको सुरक्षाको कुरा पनि भयो । सामुदायिक स्कुलमा विद्यार्थी टिकाउन र गुणस्तर सुधार्न बस सुविधाले योगदान पुग्ने अपेक्षा छ ।’
महानगरले हालै १७ बुँदे शैक्षिक सुधार निर्देशन जारी रहेको छ । यस्तै, नगर क्षेत्रका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरी गुणस्तर सुधार्ने लक्ष्य लिएको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले भन्सार छुटमा आउने यस्तो एउटा स्कुल बसमा १४ देखि १५ लाख महानगरले दिने गरेको सुनाए । ग्रामीण क्षेत्रमा रहेका स्कुललाई टिकाउन र विद्यार्थीलाई घर नजिकै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न महानगर लागेको उनको भनाइ छ ।
सामुदायिक स्कुलमा बस सेवा सुरु भएपछि विद्यार्थी र अभिभावकमा सकारात्मक प्रभाव परेको सरोकारवालाहरु बताउँछन् । एक महिनाअघि सहुलियतमा बस पाएको पोखरा–२५, हेमजामा रहेको विष्णुपादुका मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण नेपालीले विद्यार्थी संख्या बढेको र अभिभावक र विद्यार्थीहरु उत्साहित भएको सुनाए । बस सञ्चालन गर्न अब जनशक्ति, इन्धन र मर्मतसंहार चुनौती बन्ने जनाउँदै उनी थप्छन्, ‘बस त आयो । सञ्चालन खर्च जुटाउन न विद्यार्थीसँग शुल्क दिने अवस्था छ, न अरु स्रोत छ । यसमा स्थानीय सरकारले सघाउनुपर्छ ।’
महानगरले प्रधानाध्यापकहरुको सुविधा वृद्धि गरेको छ भने विद्यार्थीको दैनिक खाजा खर्च रकमसमेत थप गरेको छ । पोखरा महानगरले प्राविधिक जनशक्ति तयार गर्न गण्डकी बहुप्राविधिक शिक्षालयसमेत सञ्चालन गरेको छ । केही वडाले छात्रवृत्ति दिएर यहाँ वडावासीलाई प्राविधिक शिक्षा पढाइरहेका छन् । सिटिइभिटीबाट मान्यता प्राप्त शिक्षालयले डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, अटोमोवाइल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, फार्मेसी, सामान्य चिकित्सा (एचए) र वन विज्ञान कार्यक्रम चलाइरहेको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया