अर्थतन्त्र सिथिल हुँदा राजस्वमा असर

समाधान संवाददाता २०८० मंसिर ६ गते १३:३४

पोखरा ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजस्व संकलनमा देखिएको बताएका छन् । यद्यपि, आन्तरिक राजस्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उनको भनाइ छ ।

Advertisement


आन्तरिक राजस्व कार्यालय पोखराका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा कात्तिक मसान्तसम्म १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघ तथा आन्तरिक राजस्व कार्यालयद्वारा आयोजित अन्तक्र्रियामा उनले हुण्डीको अवैध कारोबारका कारण न्यूनबिजीकरणमार्फत् सामान आयात हुने गरेको पनि औंल्याए ।


स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ आन्तरिक राजस्व कार्यालयले सप्ताहव्यापी कर सप्ताह मनाइरहेको छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा मूल्य अभिवृद्धि कर ( भ्याट) कार्यान्वयनमा आएको स्मरण गर्दै व्यवसायीहरु प्रगतिशील र प्रविधिमैत्री कर प्रशासनको पक्षमा रहेको तर्क गरे ।


करसम्बन्धी कार्यपत्र पेश गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका सूचना अधिकृत गोपाल गिरीले मिसम्याच, कर र विवरण दाखिलाको तौरतरिका, छुटका व्यवस्थाबारे जानकारी गराए ।पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीेले करदातालाई दुःख दिने होइन कि सम्मान गर्नुपर्ने धारणा राखे । करदाताको पनि सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनको माग छ ।


संघका महासचिव बलराम आचार्यले कर नीतिहरु बनाउँदा व्यवसायीको सुझाव सुनिनुपर्नेमा जोड दिए । कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु बालकृष्ण कोइराला, भरत केसी, लेखनाथ सुवेदी, टीकाराम सुवेदी, युवकबहादुर बस्नेत, राम कँडेल, माधव बस्ताकोटी, व्यवसायीहरु महेन्द्र पौडेल, परशुराम तिवारी लगायतले कर प्रशासनसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया