हनुमतधाममा मुख्यमन्त्री

समाधान संवाददाता २०८० मंसिर ९ गते १०:५४

गण्डकी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्नपूर्ण गाउँपालिका ४ थाप्लेस्थित हनुमतधाम निर्माणस्थलको शुक्रबार अवलोकन गरेका छन् । प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आएको थाप्लेको भूमे मन्दिर नजिकै निर्माण गर्न लागिएको हनुमतधामको स्थलगत निरीक्षणसँगै मुख्यमन्त्रीले सम्बद्ध स्थानीयवासी, निर्माण समितिसँग छलफल गरेका हुन् ।

Advertisement


धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकिएको छ । उक्त प्रतिवेदनअनुसार ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रफलमा हनुमानको मूर्ति राखिने जनाइएको छ ।


डोमबाट ६४ फिट उचाइमा हनुमानको मूर्ति रहने छ । मूर्तिसहित राम–सीताको मन्दिरलगायत संरचना २३ करोड ७३ लाख ५३ हजारको लागतमा निर्माण गरिने डिपिआरमा उल्लेख छ । सो अवसरमा मुख्यमन्त्री पाण्डेले धार्मिक पर्यटकीयस्थलका रूपमा यस स्थलको विकास गर्न सकिने बताए । निर्माण समितिले जग्गा प्राप्तिलगायत कामलाई अघि बढाउनुपर्ने बताउँदै उनले प्रदेश सरकारका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।


नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले महावली हनुमानले लक्ष्मणलाई बचाउनका लागि कालाञ्जर पर्वतबाट सञ्जीवनी बुटी ल्याउने क्रममा यस स्थानमा टेकेको विश्वास रहेको सुनाए । हनुमतधाम निर्माण गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनले बताए । हनुमतधाम निर्माण गरेसँगै यो गण्डकी प्रदेशको मात्र नभई समग्र नेपालको नै विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्ने शर्माको भनाइ छ ।


धामसँगै यस स्थानमा हनुमत औषधालय, गुरुकूल आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले यस क्षेत्रको समृद्धि र विकासका लागि हनुमतधाम महत्वपूर्ण बन्ने बताउँदै निर्माणका लागि पालिकाका तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

Advertisement


निर्माण समिति अध्यक्ष मोहदत्त पोखरेलले समिति निर्माण कार्यका लागि लागिरहेको उल्लेख गरे । समितिले धाम निर्माणका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेर यसबारे जानकारी गराएको समितिका सदस्य राजबहादुर गुरुङले जानकारी दिए । हनुमतधाम निर्माण सम्बन्धमा प्रधानमन्त्री सकारात्मक रहेको र सहयोग गर्ने विश्वास दिलाएको गुरुङले सुनाए ।

तपाईको प्रतिक्रिया