रुख काट्नेलाई पाेखरा महानगरद्वारा १५ हजार जरिवाना

पोखरा ।
सहरको हरियालीका लागि पोखराका सडक किनारमा रुखहरु रोपिएका छन् । त्यसले वातावरणमा योगदान त पुर्याएकै छन्, सहरी सौन्दर्य पनि बढाएका छन् । तर तिनै रुख बिरुवा सप्रिँदा आमनेसामनेका पसल र घरहरुले भने आफूहरु ओझेलमा परेको ठानेर रुख बिरुवालाई बैरी ठान्छन् भन्ने उदाहरण बेलाबेला देखिन्छ । त्यसैको उदाहरण हो हालै पोखरा न्युरोड सडक किनारका रुख काटिनु ।
महानगरपालिकालाई पनि टाउको दुखाइ नै छ—कहिले सडक किनारका रुख काटिन्छन्, कहिले फूल चोरिन्छन् । हालै न्युरोडमा रुख काट्नेलाई महानगरपालिकाले जरिवाना गरेको छ । महानगरले पोखरा–८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने २ पसलेलाई कारबाही गरेको हो ।
फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकिएको जनाउँदै अनुमतिबिना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए ।
महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिबिना कटान गरेमा प्रतिहाँगा ५ हजार र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।
महानगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा १ घर २ बिरुवाको नीति लिएको छ । चालु वर्षमा २ लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ । महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ ।
पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा थुप्रै बिरुवा रोपेको जनाएको छ । सडकको बिचको डिभाइडर र किनारमा पनि सयौं संख्यामा फूलका बिरुवा रोपिएका छन् । ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानाका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम महानगरको छ ।
सडक छेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा नगरप्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने जनाउँदै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि उनले महानगरवासीमा आग्रह गरे ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया