फेवा किनारमा भलिबल प्रतियोगिता

पोखरा ।
आगामी पुस १४ देखि १६ गतेसम्म पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले गर्ने सडक महोत्सवको २५ औं संस्करणमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा पोखरा बाहिरका क्लब पनि सहभागी हुन पाउनेछन् । टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने भलिबल संघका अध्यक्ष एवम् खेल संयोजक रामबहादुर लामिछानेले जानकारी दिए ।
प्रतियोगिताका विजेताले एक लाख ११ हजार एक सय ११ रूपैयाँ र उपविजेताले ७७ हजार सात सय ७७ रूपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो)ले जनही तीन हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीले १० हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १२ टिम सहभागी हुने अनुमान छ ।
तपाईको प्रतिक्रिया