घरेलु रक्सी र गाँजा वैध बनाउँदै छौंः मुख्यमन्त्री पाण्डे

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घरेलु मदिरा र गाँजालाई वैध बनाउने घोषणा गरेका छन् । पोखरामा बिहीबार राष्ट्रिय औद्योगिक व्यापार २०८० उद्घाटनपछि मुख्यमन्त्री पाण्डेले घरेलु मदिरा र गाँजाको प्रयोग र उत्पादनलाई वैध बनाउन कानुन बनाइने प्रष्ट गरे ।
उनले संघले कानुन नबनाउँदा प्रदेशका कानुन बन्न नसकेकाले अब संघको मुख ताकेर नबस्ने ससुनाए । ‘प्रदेश सरकारले बनाएका कानुन भोलि संघ सरकारले बनाएका कानुनसँग बाझिन पनि सक्छन् । तर, भोली जे गर्नुपर्ने हो, गरौंला । अहिले आवश्यक पर्ने कानुन बनाएर अगाडि बढ्छौं,’ मुख्यमन्त्री पाण्डेले भने ।
गाँजा लागुपदार्थमात्र नभएर औषधीको रुपमा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । ‘उद्योगजन्य पदार्थ पनि हुन्छ । त्यसलाई टेकेर कानुन निर्माण गरिरहेका छौं । हामीलाई एउटा चिन्ता छ, यसको दुरुपयोग नहोस्,’ उनले भने । गाँजा र घरेलु मदिरालाई कानुनी मान्यता दिन सरकारले विधेयकको मस्र्याैंदा तयार गरिरहेको उनको भनाइ छ ।
‘घरेलु मदिराको ठूलो उद्योग गर्ने भनेको होइन । यसलाई अहिले जसरी गाउँघरमा बनाइन्छ, त्यसको क्वालिटी मेन्टेन गर्नेमात्र भनेको हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘मस्र्याैंदा अन्तिम चरणमा छ । आउँदो प्रदेश सभा बैठकमा यी दुई विधेयक दर्ता हुन्छन् ।’
गण्डकी प्रदेश सभाले भर्खरै वन विधेयक पारित गरेसँग वनका केही कच्चा पदार्थ उपयोग गर्न सजिलो भएको पाण्डेको भनाइ छ । गाउँमा बाँदर आतंक भएका बेला बाँझो खेतमा गाँजा लगाउने योजना उनले सुनाए । ‘बाँदर रोक्ने अहिले केही उपाय छैन । श्रीलंकले बाँदर व्यापार गर्छ । हामी किन गर्न नसक्ने ?,’ उनको प्रश्न छ, ‘बाँदर आतंकबाट छुटकारा पाउने के गर्न सकिन्छ, सबैको सुझाव दिन लिन्छौँ ।’
कोभिडले अर्थतन्त्र सिथिल भए पनि सुधारोन्मुख भएको उनको ठम्याइ छ । आर्थिक संकटका बेला उद्योग, व्यवसायहरु घाटा भइरहेका बेला बैंकहरु नाफा देखिएको उनले औंल्याए । ‘सुन्छु ७ प्रतिशतमा लिएको ब्याज १७ प्रतिशत पुग्यो । यसको जिम्मेवारी कसले लिन्छ ?,’ मुख्यमन्त्री पाण्डेले भने, ‘बैंकहरु जहिल्यै नाफामा जाने, अनि यस्तो बेला उद्योग व्यापार गर्ने मान्छे घाटामा जाने ?’
बहुदलीय व्यवस्था आएपछि पूर्वाधार निर्माण गरे पनि रोजगारी सिर्जना गर्न नसकिएको मुख्यमन्त्री पाण्डेको स्वीकारोक्ति छ । उनले अब पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने जनाए । ‘प्रदेशको कारणले व्यवसायमा कुनै अप्ठ्यरो परेको भए सहजीकरण गर्न सरकार तयार छ । छिट्टै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेका छौं ।’ सर्वोच्चको आदेश अनुसार फेवाताल वरिपरिका अवैध संरचना हटाउने उनले प्रतिवद्धता जनाए ।
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
नयाँबजारमा बिहीबारदेखि समृद्धि स्टिल्स ३२ औं राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । मेला पुस १ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको पहिलो दिन गैह्रापाटनबाट नयाँबजारसम्म प्रभातफेरि निकालिएको थियो । आमा समूह, महिला समूह, व्यवसायीका समूह तथा भजन समूहहरु प्रभावतफेरीमा सहभागी थिए । मेलामा यस पटक आकर्षक स्टल र स्टेज निर्माण गरिएको छ । नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ भएको मेलामा २ सय ५० स्टल रहेको उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बताए ।
मेलाको डोमतर्फ ५४ वटा, अटोका ५० र अन्य १ सय ४६ स्टल छन् । मेलास्थलमै हस्तकलासम्बन्धी तालिमको व्यवस्था छ । मेला प्रवेशका लागि सर्वसाधारणको लागि १ सय रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएकाका लागि निःशुल्क प्रवेशको व्यवस्था छ ।
मेलाबाट ९० लाख आम्दानी गरी खर्च कटाएर १० लाख बचत हुने अनुमान छ । बचत रकम उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायीको क्षमता अभिवृद्धिका लागि खर्च हुने संघले जनाएको छ ।
तपाईको प्रतिक्रिया