टेनिस उपाधिका लागि प्रदीप र संरक्षक भीड्ने

समाधान संवाददाता २०८० पुष १५ गते १२:१६

पोखरा ।
पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदीप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भूषण बज्राचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् ।

Advertisement


कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको शनिबार भएको सेमीफाइनलमा आ–आफ्ना खेल जित्दै उनीहरुले भिडन्त पक्का गरेका हुन् ।


१९ औं सस्करणका समेत उपाधि विजेता प्रदीपले भारतीय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो सेट ३–६ ले अभिनन्सुलाई सुम्पिएका प्रदीपले दोस्रो सेटमा सम्हालिएर खेल्दै ६–२ आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याए । अन्तिम सेटमा प्रदीपले अभिनन्सुलाई ६–४ ले पछि पार्दै फाइनलमा स्थान पक्का गरे ।

Advertisement


मेन्स सिंगल्सतर्फ नै भएको सेमीफाइनलमा पूर्व नं १ संरक्षकले २–० को सोझो सेटमा ऋतिक रानालाई पराजित गरे । पहिलो सेट ६–२ र दोश्रो सेट ६–३ ले जित्दै ऋतिकको फाइनल पुग्ने सपनालाई संरक्षकले विफल पार्दै उपाधि भिडन्तमा प्रदीपसँग भेट पक्का गरे ।


यता, महिला सिंगल्सतर्फ नेपाल नं १ तथा १९ औं माछापुच्छ्रे महिलातर्फकी उपाधि विजेता अभिलाषा विष्टले माहिका रानालाई २–१ को सेटमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेकी छन् । पहिलो सेट ६–३ ले सहज जित हात पारेकी अभिलाषाले दोस्रो सेट भने माहिकालाई ४–६ ले सुम्पिइन् ।

Advertisement


अन्तिम सेट भने अभिलाषाले ६–१ ले सहज जित हात पारिन् । अभिलाषाको भेट फाइनलमा सुनिरा थापासँग हुनेछ । सेमीफाइनलमा रायना शाह विरुद्ध संघर्षपूर्ण खेलमा सुनिराले ६–३, ६–७ र ७–५ ले जितेकी हुन् ।


मेन्स डबल्सको उपाधि सरंक्षक र सम्यकलाई
मेन्स डबल्सतर्फको उपाधि संरक्षक भूषण बज्रचार्य र सम्यक भूषण बज्रचार्यको जोडीले जितेको छ । उनीहरु सहोदर दाजुभाइ हुन् । फाइनल भीडन्तमा संरक्षक र सम्यकले भारतीय खेलाडी जोडी अभिनन्सु ठाकुर र सिद्धान्त डेकालाई सोझो सेटमा ७–५, ६–४ ले हराउँदै उपाधि जितेका हुन् ।


यस्तै, भेट्रान्स ६५ वर्षमाथि सिंगल्स खेल मनोज राणाले जितेका छन् । विदुर विष्ट विरुद्ध फाइनल भिडन्तमा मनोजले ४–१, ४–० को सहज जित हात पारे । ३५ वर्षमाथि भेट्रान्स सिंगल्सको फाइनलमा सन्तोष खत्री र पूर्व नेपाल नं १ कमल भण्डारी भिड्ने पक्का भएको छ ।


३५ वर्षमाथिको डबल्समा अनिल शाही र सिमान्त गुरुङको जोडीले जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ७–६, ६–१ ले पराजित गरी फाइनलमा पुगेका छन् । ४५ वर्षमाथि भेट्रान्स सिंगल्सको फाइनलमा रोहीत सुनुवार र महेश श्रेष्ठले उपाधि भिडन्त पक्का गरेका छन् ।


५५ वर्षमाथि भेट्रान्स सिंगल्सको फाइनलमा जिवन घिमिरे र बिमल गुरुङले फाइनलमा स्थान पक्का गरेका छन् । टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार सिंगल्सतर्फ र केही डबल्सतर्फका फाइनल खेल आइतबार हुँदै छन् ।

तपाईको प्रतिक्रिया