टाइगर कप भलिबल सुरु: एपिएफलाई दोहोरो सफलता

समाधान संवाददाता २०८० माघ २ गते १०:२४

पोखरा ।
चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । पहिलो दिन ३ खेला भएका छन् भने उद्घाटन खेल खराब मौसमका कारण रोकिएको छ ।

Advertisement


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ विभागीय टिम शसस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमन्ड क्लबले जित दर्ता गर्दा पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी सुरुवात गरेको छ । गण्डकी प्रदेश भलिबल संघ र त्रिभुबन आर्मी क्लब बिचको खेल भने खराब प्रकाशका कारण रोकियो ।


खेल जारी रहँदा गण्डकी प्रदेश २–१ ले अघि थियो । तर टेक्निकल टिम अन्तिम समयमा खेल रोक्न बाध्य भयो । रोकिएको खेल माघ ३ गते हुनेछ । प्रतियोगिताको पहिलो दिन तेस्रो संस्करणको उपाधि विजेतासमेत रहेको नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकालेको छ । चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ ।


पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेस्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेस्रो र चौथो सेटमा टिम कम्बिनेसन अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन बाध्य बन्यो । एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच बनिन् ।


महिलातर्फको दोस्रो खेल चन्द्रागिरी न्यू डायमण्ड क्लबले जितेको छ । नेपाल आर्मीको खेलमा न्यु डायमण्डले ३–१ को सेटमा जित निकाल्दै प्रतियोगितामा २ अंक प्राप्त गरेको छ भने आर्मीले १ अंक पाएको छ । पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लगातार जित्दै न्यू डायमण्डले आर्मी विरुद्ध दबाब प्रस्तुत गरे पनि तेस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

Advertisement


तर चौथो सेटमा आर्मीलाई दबाबमा राख्दै न्यू डायमन्डले २५–१५ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । रिमा कुँवर म्याच अफ दि टाइगर बन्न सफल भइन् । पुरुषतर्फको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लब विरुद्ध ३–० को सोझो सेटमा जित निकालेको छ । पहिलो सेट २५–१९ ले सहज जित निकाले पनि दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रोमा एपिएफले ३३–३१ ले हात पार्न सफल भयो अन्तिम सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै ३ अंक हात पारेको छ । एपिएफका विजय थापा म्याच अफ दि टाइगर घोषित भए ।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल उद्घाटन गरेका थिए । उनले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध भएको जनाए । उनले प्रदेश सरकार गण्डकीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान, कभर्ड हलसमेत निर्माण गर्ने योजनामा रहेको सुनाए ।


सो अवसरमा मुख्यमन्त्री पाण्डेले अग्रज सामाजिक व्यक्तित्व कर्णेल जेपी क्रसलाई सम्मान गरे । हालै १ सय वर्ष टेकेका क्रस शिक्षा, खेलकुद तथा सामजिक क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याएकोमा सम्मानित बनेका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले भलिबल खेलको विकासका लागि इन्डोर कभर्ड हल आवश्यक रहेकोमा जोड दिए ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव डिबी नेपालीले प्रतियोगिता गर्न १ करोड १५ लाखभन्दा बढी खर्च हुने जनाए ।


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले करिब १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।


मंगलबार महिलातर्फ पहिलो खेलमा गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लब र हरियाणा टिम भारतका बिच हुनेछ । त्यस्तै पुरुषतर्फ श्रीलंका आर्मी टिम र एपिएफ क्लब तथा दोस्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लबका बिच हुनेछ ।

तपाईको प्रतिक्रिया