टाइगर कप भलिबलः श्रीलंका आर्मी र हेल्प नेपालको जित

पोखरा ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० मा महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी तथा पुरुषतर्फ श्रीलंका आर्मी टिम र टिप टप हेल्प नेपालले खेल जितेका छन् ।
पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिबल टोली नेपाल पुलिस क्लबसँग सोझो ३–० को सोझो सेटमा पराजित भएको छ । ३ जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो २ सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–०९ ले बुझाउन पुग्यो ।
नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी सुरुका २ सेट लगातार गुमाउँदै तेस्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि अन्ततः २५–१६ ले पुलिसलाई बुझाउन पुग्यो । खेलमा टाइगर अफ दि म्याच नेपाल पुलिसकी उषा भण्डारी बन्न सफल भइन् ।
जितसँगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले ३ अंक हात पारेको छ । योसँगै नेपाल पुलिस ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ । पुलिसले आफ्नो पहिलो खेलमा एपिएफसँग ३–१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समूहमा एपिएफ २ अंकका साथ दोस्रो स्थानमा छ ।
महिलातर्फको दोस्रो खेलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि दोस्रो सेट भने २०–२५ ले गुमायो । आर्मी तेस्रो सेटमा हरियाणासँग १८–२५ ले स्तब्ध बन्यो तर चौथो सेटमा आर्मी खेलमा फर्कदै २५–१७ को जित निकाल्यो भने अन्तिम सेटमा १५–१२ को जित निकाल्दै अन्तिम चारको सम्भावना जीवितै राखेको छ । खेलमा नेपाल आर्मीकी सोफिया पुन म्याच अफ दि टाइगर घोषित भइन् ।
यता, पुरुषतर्फ समूह ‘बी’ को खेलमा श्रीलंका आर्मी टिमले विभागीय एपिएफलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो पटक नेपाल खेल्न आएको पाहुना टोली श्रीलंका आर्मी पहिलो सेटमा २३–२५ ले पछि परे पनि लय फर्किदै लगातार ३ सेट आफ्नो पक्षमा पार्न सफल भयो । श्रीलंका आर्मीले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–२१ र चौथो सेट २५–१३ ले जित्दै समूह बिमा ३ अंक हात पारेको छ । खेलमा श्रीलंका आर्मीका खेलाडी सजिथ केनुमारत्ने म्याच अफ दि टाइगर बन्न सफल भए ।
पुरुषतर्फ नै ३ पाकिस्तानी खेलाडी सम्मिलित टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र विभागीय टोली त्रिभुबन आर्मी क्लब बिचको खेलमा हेल्प नेपालले ३–१ सेटमा आफ्नो पहिलो खेल जित्दै २ अंक हात पारेको छ । पहिलो २ सेट २५–१८ र २५–२० ले जितेको हेल्प नेपालले तेस्रो सेटमा नेपाल आर्मी खेलमा पुनरागमन गर्दै २५–२३ ले जित्यो तर चौथो सेट २५–२० ले हेल्प नेपाललाई सुम्पियो । खेलमा टिपटपमा माझर अली टाइगर अफ दि म्याच बनेका छन् ।
लिग कम नक आउटका आधारमा जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’मा एपिएफ, गण्डकी र पुलिस छन् । यस्तै समूह ‘बी’मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमन्ड र हरियाणा टिम भारत छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्र्टस क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही नगद २५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणका खेल जारी रहनेछन् । खेल तालिका अनुसार महिलातर्फ एपिएफ क्लब र गण्डकी प्रदेशका बिच खेल हुनेछ भने दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड क्लबले हरियाणा पुलिस क्लबको सामना गर्ने छ । यस्तै, पुरुषतर्फ नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिम तथा दोस्रो खेल हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघका बिच हुने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जनाएका छन् ।
तपाईको प्रतिक्रिया