विपद् पूर्वतयारीमा लागौंः मुख्यमन्त्री पाण्डे

वालिङ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार स्याङ्जाको वालिङमा भएको उद्धार विपद् तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद प्रतिकार्यमा जुटेको उल्लेख गरे ।
‘गण्डकी प्रदेशमा हिमाल, पहाड र तराई तीन फरक फरक भूगोल छन्,’ उनले भने, ‘यहाँ विभिन्न किसिमका विपद आउन सक्छन्, विपद् कहाँ कति बेला आउँछ थाहै हुँदैन, त्यसैले विपद् पूर्व र पछिको उद्धार प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्छ ।’ विपद् पूर्वको तयारी र विपद्पछिको उद्धार, राहत, क्षतिपूर्ति, पुनःस्थापन लगायतका कार्यका लागि गण्डकी प्रदेश सरकारले १० करोड विनियोजन गरेको उनले सुनाए ।
गण्डकी प्रदेशभित्रका स्थानीय तहलाई पनि विपद् व्यवस्थापनका लागि न्यूनतम १० लाख विनियोजन गर्न निर्देशन दिइएको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले विपदपछि आइपर्ने उद्धार कार्यका लागि तालिम, प्रशिक्षण, उपकरण खरिदमा सहयोग र सुरक्षाकर्मीको मनोबल बढाउने कार्य गर्दै आएको जानकारी दिए । काल्पनिक तर समाजले भोग्दै आएका घटनालाई नमुनाको रूपमा प्रस्तुत गरिएको उक्त अभ्यासले समुदायको भूमिका, नागरिकको भूमिका के हुन्छ भन्ने जनचेतना जगाउनका लागि नमुना अभ्यास प्रदर्शन गरिएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले बताए ।
‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ, भन्ने मूल नारासहित गण्डकी प्रदेश सरकारको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा वालिङ ९ स्थित भुम्रेमा बाढीपहिरो, भूक्षय, भूकम्प, आगलागी लगायतका विपद्का समयमा गर्ने विधिको नमुना प्रदर्शन गरिएको थियो ।
आँधीखोलाको किनारमा गरिएको नमुना अभ्यास प्रदर्शन अवलोकन गर्न गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभाका सदस्य, स्याङ्जाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीयको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया