१५ दिनभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्रीकाे निर्देशन

समाधान संवाददाता २०८० माघ ४ गते १०:४८

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुंगाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएका हुन् ।

Advertisement


प्रधानमन्त्री दाहालले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंग्याउन निर्देश गरेका हुन् । छलफलमा प्रधानमन्त्री दाहालले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन आग्रह गरे ।


‘संघीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ । यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्’, प्रधानमन्त्री दाहालले भने, ‘यसलाई नै बहाना बनाएर संघीयता विरोधीले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंग्याउनुस् ।’

Advertisement


छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, संघीय मन्त्री, सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारी उपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया