विवाद समाधान गर्न तनहुँ जिल्ला अदालतद्वारा मेलमिलापमा जोड

समाधान संवाददाता २०७६ असार १६ गते १२:२९

कृष्ण न्यौपाने
दमौली

विवाद समाधान गर्ने सहज र सर्वोत्तम उपायको रुपमा मेलमिलापलाई जोड दिइएको छ । विवादको समाधान मेलमिलापबाट गर्दा दुवै पक्षले जितेको महसुस गर्ने, मितव्ययी हुने र सहज हुने भएकोले तनहुँ जिल्ला अदालतले मेलमिलापलाई जोड दिएको हो ।

देशको परिवेश, सामाजिक व्यवहार लगायतका कारणले गर्दा मेलमिलाप आवश्यक रहेकोले मेलमिलापलाई प्राथमिकतामा राखिएको तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले बताए । ‘मेलमिलापका लागि केही कानुनी विधि र प्रकृया निर्माण गरिएको छ, सोही विधिको आधारमा मिल्न सक्ने विवाद मेलमिलापमा पठाउने गरिएको छ,’ न्यायाधीश ढकालले भने ।

Advertisement

न्यायधीश ढकालका अनुसार चालु आर्थिक वर्ष २०७५÷७६ को असार १३ गतेसम्म जिल्ला अदालतबाट ३ सय ७८ थान मुद्दा मिलापत्र गरिएको छ । जसमध्ये मेलमिलाप केन्द्रबाट ६६ मुद्दा मिलापत्र भएको छ भने ३ सय १२ थान मुद्दा पक्ष आफैले मिलापत्र गरेका छन् ।

यसअवधिमा जिल्ला अदालतमा १ हजार ५ सय ५२ थान मुद्दा रहेकोमा ९ सय ३२ थान मुद्दा फछ्र्यौट भएको छ । ‘सामान्य विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्न मेलमिलापकर्तालाई प्रशिक्षण दिने गरेका छौं,’ न्यायाधीश ढकालले भने ।

Advertisement

जीत–जीतको सिद्धान्त मेलमिलापले लिएकोले अधिवक्ताहरुले मेलमिलापलाई सकारात्मक रुपमा सञ्चालन गर्ने गरेको नेपाल वार एशोसिएसन तनहुँ अदालतका अध्यक्ष अमृत नेपालीले बताए । ‘मेलमिलापका धेरै फाइदाहरु छन्, विवाद टुंग्याउने सहज उपाय मेलमिलाप हो,’ उनले भने ।

नेपालमा २० वर्ष पहिलादेखि मेलमिलापबाट विवाद समाधान गर्ने कामको थालनी भएको थियो । छिमेकी–छिमेकी विवाद, परिवार–परिवारका विवाद मेलमिलापको माध्यमबाट समाधान हुँदै आएको मेलमिलाप परिषद्का संयोजक केशरीराज पण्डितले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतमा विसं २०६० सालदेखि मेलमिलापको थालनी भएको थियो । उनले भने, ‘संविधानले स–साना विवाद मेलमिलापबाट समाधान गर्ने उल्लेख गरेकोले मेलमिलापलाई जोड दिनुपर्छ ।’

मेलमिलाप शब्द मिठो भएपनि यो जटिल पनि रहेकोले मेलमिलाप जबरजस्ती हुन नहुने व्यास नगरपालिकाका प्रमुख एवं वरिष्ठ अधिवक्ता बैकुण्ठ न्यौपानेले बताए । ‘मेलमिलाप जबरजस्ती भए त्यसले स्थायी समाधान हुन सक्दैन, यसको मर्म बुझ्न आवश्यक छ,’ न्यौपानेले भने ।

तपाईको प्रतिक्रिया