टाइगर कप भलिबल
श्रीलंकासँग डरायो गण्डकी, आर्मीसँग हारेर फाइनल प्रवेशका लागि सशस्त्रसँग भिड्दै

पोखरा ।
चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमीफाइनलमा स्थान पक्का गरेको छ । तर ऊ समूह विजेताका रुपमा नभई उपविजेता बनेर सेमिफाइनल प्रवेश गर्यो ।
बिहीबार सम्पन्न अन्तिम लिगमा गण्डकीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको भए ऊ समूह विजेता बन्थ्यो र सेमीफाइनलमा श्रीलंका आर्मीसँग भिड्नुपर्ने थियो । किन कि बुधबार सम्पन्न अर्को समूहको लिग खेलबाट श्रीलंका उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो । सो समूहबाट सशस्त्र प्रहरीको एपिएफ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
आर्मी र गण्डकीबीच प्रतियोगिता उद्घाटनका दिनको खेल लाइट प्रोटेस्टका कारण रद्द भएको थियो । त्यसैले सो खेल बिहीबार खेलाइएको थियो । अन्तिम लिगमा आर्मीले गण्डकीलाई सोझो सेटमा हराएको भए गण्डकी लिग चरणबाटै बाहिरिन्थ्यो ।
पहिलो सेटमा आर्मीले त्यो लक्षण पनि देखायो । उसले गण्डकीलाई सजिलै पराजित ग¥यो । त्यसपछिका लगातार २ सेट गण्डकीले जित्यो । गण्डकीलाई सेमिफाइनल पुग्न १ अंक पर्याप्त थियो । उसले बुधबार टिपटप हेल्प नेपाललाई पाँचौं सेटमा हराएर २ अंक पाएको थियो ।
त्यसपछिका चौथो र पाँचौं सेटमा गण्डकीले आफ्ना स्टार खेलाडीलाई आराम दिएर बेन्चमा राखिएका खेलाडीलाई मैदानमा उतार्यो । गण्डकीमा सहभागी भारतीय खेलाडीसहित चर्चित क्विकर हिमाल सुनारीलाई समेत प्रशिक्षक रमेश केसीले आराम दिए ।
गण्डकी श्रीलंकाको टिमसँग डराएर हार्न चाहेको भन्ने कुरा प्रशिक्षक रमेश केसीले अस्विकार गरे । उनले सेमिफाइनल प्रवेश निश्चित भएपछि शुक्रबारका लागि मुख्य खेलाडीलाई आराम दिएको दाबी गरे । ‘हाम्रा प्रतिद्वन्द्वी खेलाडीले एक दिन आराम पाए तर हाम्रा खेलाडी आज पनि खेले, त्यसैले थकान महसुस गरेका खेलाडीलाई आराम दिएका हौं,’ उनले भने ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार हुने पुरुषतर्फको सेमिफाइनलमा हेल्प नेपाल र श्रीलंका आर्मी तथा दोस्रो खेल एपिएफ र गण्डकीका बिच हुनेछ ।
महिलातर्फ तेस्रो स्थानका लागि हुने खेलमा नेपाल आर्मीको त्रिभुवन क्लबले अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार ३ खेल हुने संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जनाएका छन् । महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त पक्का भएको छ ।
जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउँदै एपिएफ क्लबसँग भिडन्त पक्का गरेको छ ।
सम्पन्न खेलमा पहिलो सेट २५–१९ ले दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको छ खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित भएकी छन् ।
सम्पन्न एक अर्को सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको छ । दोस्रो र तेस्रो संस्करणको च्याम्पियन एपिएफले बिहीबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
सम्पन्न खेलमा एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो । पाँचौ सेट जारी रहँदा एपिएफ ७–२ ले पछि थियो । आर्मीले आफ्नो अग्रतालाई जोगाउन सकेन । आर्मीको एकपछि अर्को गल्तीको फाइदा उठाउँदै अन्ततः एपिएफ फाइनलमा स्थान पक्का गर्न सफल बन्यो । खेलमा एपिएफका सरस्वती चौधरी टाइगर अफ दी म्याच घोषित भएकी छन् ।
जारी प्रतियोगितामा अविजित रहँदै एपिएफले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । चौथो सस्करण जितेमा एपिएफले टाइगरकपको उपाधिमा ह्याट्रिकसमेत गर्नेछ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।
तपाईको प्रतिक्रिया