टाइगर कप भलिबल

महिलातर्फ एपिएफ र पुरुषतर्फ हेल्प नेपाललाई उपाधि

समाधान संवाददाता २०८० माघ ७ गते १०:४२

पोखरा ।
पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधिमा ह्याट्रिक गरेको छ भने पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ ।

Advertisement


शनिबार भएको महिलातर्फको फाइनलमा चन्द्रागिरी न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि चुमेको हो । पहिलो सेट एपिएफले २५–२० र दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको हो ।


यता, पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं च्याम्पियन भएको छ । ३ जना भारतीय खेलाडी सम्मिलित डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघलाई ३ पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्टस क्लबले ३–१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।


खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–१८ ले जित्दै दबाबमा राखे पनि तेस्रो सेटमा खेलमा पुनरागमन गर्दै गण्डकीले २६–२५ ले जित्यो । चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै पहिलो पटक उपाधिसमेत पाएको हो ।


च्याम्पियन बनेका हेल्प नेपाल स्पोर्टस क्लब र एपिएफले समान नगद ५ लाख ५५ हजार ५ सय ५५ पाएका छन् भने उपविजेता न्यू डायमन्ड र गण्डकीले नगद २ लाख ५५ हजार ५ सय ५५ मा चित्त बुझाएका छन् ।

Advertisement

एपिएफकी निरुता ठगुन्ना र टिपटपका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी


पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । शनिबार नै भएको तेस्रो स्थानको खेलमा पाहुना टोली श्रीलंका आर्मी टिमलाई एपिएफले सोझो ३–० सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२३, दोस्रोे सेट २५–२१ र तेस्रो सेट २७–२५ ले जित्दै प्रतियोगितामा एपिएफ तेस्रो बनेको हो ।


प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उद्धिन पाकिस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीका साथमा जनही नगद २५ हजार ५ सय ५५ पाएका छन् ।


विधागत रुपमा उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भर न्यू डायमन्डकी बालमिका आचार्य, उत्कृष्ट ब्लकर आर्मीकी सुनिता खड्का र उत्कृष्ट डिफेन्डरमा न्यू डायमन्डकी सलिना श्रेष्ठ भए भने उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरका गिफ्ट ह्याम्परका साथमा ट्रफी पाएका छन् ।


पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिपटप हेल्प नेपालका पाकिस्तानी खेलाडी मजहर अली चुनिँदा सोही टिमका पाकिस्तानी खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर भए । उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी घोषित हुँदा उत्कृष्ट ब्लकरमा गण्डकीकै भारतीय खेलाडी रामास्वामी आङ्गामुथु घोषित भए भने पुरुषतर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरका गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।


माघ १ गतेबाट सुरु भएको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लबस्तरीय प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता थियो । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ १ भारतीय र पुरुषतर्फ श्रीलंकाको आर्मी टिम सहभागी थिए ।


विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्मा, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, केल्मी नेपालका उत्तम न्यौपाने लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।


आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिता गर्न सहयोग गर्ने विभिन्न संघ, संस्था र व्यक्तिलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया