३ महिनामा ४६ गाई मरे

समाधान संवाददाता २०७६ असार १७ गते १२:२५

कृष्ण न्यौपाने, दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका ४१ गाई मरेका छन् । बाघको आक्रमण, स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रका ४६ गाई मरेका हुन् ।

संरक्षण केन्द्रमा ३ महिनामा ४६ गाईहरु मरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसअवधिमा बाघको आक्रमणबाट मात्र २० वटा गाई मरेका छन् । श्रेष्ठका अनुसार दैनिक रुपमा गाईहरु थपिने तर खानाको व्यवस्था हुन नसक्दा गाई मर्ने क्रम सुरु भएको हो ।

Advertisement

संरक्षण केन्द्र नजिक झाडीहरु रहेकाले बाघले गाईहरु आक्रमण गरेपछि झाडी सफा गरिएको छ । झाडी सफा गरेपछि बाघले गाई आक्रमण गर्न छाडेको छ । संरक्षण केन्द्रलाई व्यवस्थित बनाउन चार वटा सोलार जडान गर्ने तयारी गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

२ सय ५ गाई रहेको संरक्षण केन्द्रमा ३० वटा ब्याउने गाई छन् । गाईहरुलाई चोकर दाना घाँस र स्वच्छ खानेपानीको व्यवस्था गर्न कठिन भएको छ । गाईलाई दिउँसोको समयमा चौरमा चराउन लैजाने गरिएको छ । परालमा २ लाख रुपैयाँ खर्च भइसकेको छ ।

Advertisement

वडाध्यक्ष श्रेष्ठका अनुसार केन्द्रमा दिनदिनै गाईहरु थपिने क्रम बढेसँगै आहारा अभाव हुन थालेको छ । गाईलाई पानी खुवाउन सोही ठाउँमा पोखरी खनिएको छ । तर उक्त पानी स्वस्थ छ की छैन भनेर परीक्षण गर्न समस्या परेको श्रेष्ठले बताए । ‘गाईहरु दैनिक रुपमा थपिँदै जाने र गाईलाई आहारा खुवाउन नसक्दा भविष्यमा समस्या हुन सक्ने देखिएको छ,’ उनले भने ।

गाईहरुले संरक्षण केन्द्रकै हाताभित्र रहेको दुबो घाँसहरु समेत खाएर सकाएका छन् । जसले संरक्षण केन्द्रको चौर बालुवामा परिणत भएको छ । संरक्षण केन्द्रमा रहेका गाईहरुको हेरचाहका लागि २ जना हेरालो खटाइएको छ । हेरालोले गाईहरुलाई घाँस भएको ठाउँमा चराउन लैजाने गरेका छन् । ‘खानेकुरा नपुगेपछि समय मिलाएर गाईहरुलाई चराउन लैजाने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

नगरपालिकाको रु १७ लाख र स्थानीयबासीको ३ लाख गरी २० लाखको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार गाई संरक्षण केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् । गाई खरिदका लागि मानिस आउने गरेपनि कार्यविधि नबनेका कारण विक्री गर्न रोक लगाइएको छ । ‘गाई किन्न मान्छेहरु आइरहेका छन्, नगरपालिकाले यसका लागि कार्यविधि बनाउँदैछ । कार्यविधि बनेपछि विक्रीको व्यवस्था गर्ने सोचेका छौ,’ उनले भने ।

संरक्षण केन्द्र वरपर चरणका लागि जग्गा अभाव रहेकोले वडाभित्र र वडाबाहिर रहेका ठाउँको खोजी भइरहेको छ । नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्या भएपछि संरक्षण केन्द्र निर्माण गरिएको थियो । छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातायात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरु त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

दूध दिन छाडेपछि किसानले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट समेत गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो । स्थानीय तहको निर्वाचनपछि छाडा चौपायाको विषयलाई तत्काल समाधान गर्न स्थानीयबासीले नगरपालिकालाई पटक–पटक आग्रह गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया