असफलताको ‘अद्भूत’ पाठ

समाधान संवाददाता २०८० फागुन ८ गते ९:१६

पोखरा ।
नेपाली सेनाको जागिरबाट जिन्दगी ठीकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो । हुँदाखादाको जागिर छाडेर स्याङ्जा वालिङका भीम लुंइँटेल जहाज चढेर दुबई पुगे ।

Advertisement


एकातिर कमाइ कम, अर्कोतिर युद्वको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारीको बाटो रोजेका थिए । उनले दुबईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनीको भित्तामा तस्बिर थियो, ‘टहराको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्प्नीको आफ्नै जहाज उडाउनेछ ।’


भीमको दिमागलाई त्यही एउटा तस्बिरले हान्यो । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटले उनलाई घच्घचाइरह्यो । भीमलाई विदेश धेरै वर्ष मन लागेन । विदेश छँदा गाउँघरमा देखेका सम्भावना उनका आँखावरिपरि घुमिरहन्थे । देशमा सशस्त्र जनयुद्धमा पूर्णविराम लागेर विस्तृत शान्ति सम्झौता भइसकेको थियो । केही लाख रुपैयाँ कमाएर लुइँटेल स्वदेश फर्किए । सम्भावना देखेर उनले रोजे बंगुुरपालन ।

Advertisement


२०७१ मा भीमले २७ लाख रुपैयाँ लगानी गरेर बंगुरपालन सुरुवात गरे । देशमा जनयुद्ध त रोकिएको थियो, भीमले रोजेको पेशाले भने समाजसँग युद्ध सुरु भयो । त्यति बेलाको समाज भन्थ्यो, ‘बाहुनले बंगुर पाल्न त के छुनसमेत हुँदैन ।’

समाजसँग विद्रोह गर्दै नयाँ यात्रा थाल्नेमध्ये धेरै पलायन हुन्छन्, एकाधमात्र संघर्ष र असफलता चिर्दै नमुना बन्छन्

Advertisement


परिवार, समाजसँग विद्रोह गर्दै उनले साथीभाइसँग मिलेर आँधीखोला किनारमा बनाएको खोरमा २७ वटा बंगुर हुलेर हजार माइल पर सफलताको यात्रामा एक पाइला चाले । साथीसँग मिलेर सुरुवात गरेको व्यवसायमा दरार आउन सक्ने देखेर छोटो समयमै भीम एक्लैले व्यवसाय सम्हाले । उनी सफल हुँदै गर्दा उद्देश्य राखेका थिए, ‘देशमा रोजागरी सिर्जना गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने छु ।’


विश्वबजारमा बंगुरको मासु निकै माग भएको उनको भनाइ छ । बंगुरपालनमा उनले विस्तारै सफलता हासिल गर्दै गए । बाहुनको छोराले बंगुर पाल्नै नहुने भाष्य समाजबाट हट्दै गयो । कामदारको संख्या बढाउदै थिए । भीमको लगावबाट प्रेरित भएर बंगुर पाल्ने युवाको संख्या दिनानुदिन बढ्दै गयो ।


विद्रोह गरेर थालेको पेशाबाट सफलताको सिंढी चढ्दै गर्दा एक्कासि उनी शून्यमा झनुपरेको छ । ९ महिनाअघि उनको फर्मका १ हजार ४ सय बंगुर मरे । अफ्रिकन स्वाइन फिबरका कारण उनले ३ करोड रुपैयाँ बराबरको. नोक्सानी व्यहोर्नुपरेको छ ।


उनको सफलताको यात्रामा अफ्रिकन स्वायन फिभरले असफलताको ट्याग झुन्डाइदिएको छ । भीमले त्यसपछि यतिसम्म आर्थिक अभाव भोगे कि बंगुरलाई खुवाउने दाना नहुँदा भकारीको धान झिके । त्योबाट आधा पेट खुवाए । पहिला ऋण लिन उनका फर्ममा आउने बैंकले ऋण पत्याएन । राज्यले पनि दुःखमा महलम लगाउने कोशिष गरेन ।


राज्यका निकाय, बैंक तथा वित्तीय संस्थाको सहयोग नपाएकोमा उनको गुनासो छ । ‘समस्याको पाटो त आर्थिककै थियो । अहिलेसम्म न बैंकिङ क्षेत्र, न राज्यका निकाय कतैबाट क्षेत्रबाट सहयोग भएन । बरु भिडियो हेरेर नेपालभन्दा बाहिर रहनुभएका अथवा नेपालमै भएका केही साथीले तपाईले गरेको कामप्रतिको प्रसाद हो है भनेर रकम सहयोग गर्नुभयो’, उनले सुनाए ।


अहिले उनी सुरुवाती संघर्षकै दिनमा पुगेको बताउँछन् । भीमले न हरेश खाएका छन, न बाटो फेरेका छन् । बंगुरको बजार पुरानै अवस्थामा फिर्ता पाएकोमा उनी खुसी देखिए । ‘मसँग उत्पादन हुुने हो भने त्यो क्षतिलाई कभर गर्न सक्ने गरी वातावरण तयार भएको छ’, भीम भन्छन्, ‘र त्यो अवस्थामा आफूलाई पुर्‍याउनका लागि लडिरहेको छु ।’


एक्कासि सफलता गुमाएका भीमले विश्वस्त हुँदै भने, ‘त्यो सफलताको अगाडि झुन्डाइएको एउटा ‘अ’ फेरि पनि हटेर जान्छ ।’ फेवाताल किनारमा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको अन्तिम दिन सोमबार ‘असफलताको पाठ’ सेसनमा भीम लुइँटेल, चन्द्रकान्त बराल र नवराज देवकोटासँग पत्रकार जमुना वर्षा शर्माले अन्तरक्रिया गरिन् ।
पुम्दीकोटमा विशाल महादेवको मूर्तीका परिकल्पनाकारसमेत रहेका चन्द्रकान्तले २०३६ मा बंगुर पाल्ने सहास गरेर समाजसँग पैठेंजोरी खेलेका थिए । २४ वर्षका चन्द्रकान्तलाई केही गरौं भन्ने हुटहुटी थियो ।


उनले सुरुमा ३ महिने तालिम लिएर पशु सहायकको जागिर खाए । तालिमले बंगुर पाल्दा मनग्य आम्दानी देखाएपछि उनले बंगुर पाल्न सुरु गरेका थिए । घरमा उनले जिद्धी कसे, ‘जसै बंगुर पाल्छु ।’ जायजेथा१ सय ५० रोपनी जग्गा पूरै धितो राखेर १ लाख ५० हजार रुपैयाँ ऋण काढेर उनले बंगुर पाल्न सुरु गरे ।


‘अफ्रिकन स्वायन फिभर रोग लागेर बंगुरहरु बच्चा उत्पादन गर्दै मर्ने हुन थाल्यो र म असफलताको बाटोमा गएँ’, उनले पुराना दिन सम्झिए । बंगुर पाल्दा धन र धर्म दुवै गुमाएको उनले सुनाए । ‘त्यति बेला बाहुनका छोराले बंगुर पाल्ने भनेको सामान्य कुरा थिएन । भित्रभित्र छोएको पानी खान हुन्न भन्ने मान्छेहरु पनि प्रशस्त हुन्थे’, उनले भने । अहिले उनी समाजसेवी बनेका छन् । भित्रभित्र छुन हुन्न भन्नेहरुले नै उनलाई पुम्दीकोट महादेवको विशाल परियोजनाको नेतृत्वकर्ता बनाएका छन् ।

तपाईको प्रतिक्रिया