घुमफिर सुख हो, दुःख पनि हो

समाधान संवाददाता २०८० फागुन ८ गते १०:०५

पोखरा ।
घुमफिर गर्न रूचाउने र घुमफिर अरूलाई देखाउने ‘कन्टेन्ट क्रिएटर’ हुन्– कञ्चन राई र पूजा रिजाल । घुमन्तेको नामले परिचित कञ्चन र सोलो ट्राभलर पूजाले सोमबार पोखरामा आफ्ना घुमफिर अनुभव सुनाए ।

Advertisement


नेपाल लिटरेचर फेस्टिभलमा सहजकर्ता दीपकराज जोशीसँग ‘घुमन्तेका कुरा’ सत्रमा उनीहरूले घुमफिर अनुभवमात्र सुनाएनन्, घुम्न जानुअघि चाहिने टिप्स पनि दिए । पूजाको शब्दमा घुम्नु गन्तव्य पुग्नुमात्रै होइन । बास, खानपिन अनुभव र मौसम पनि यात्राका महत्वपूर्ण पाटो रहेको उनले सुनाइन् । ‘घुमौं भनेर त्यहाँ गएर खाना कस्तो छ, संस्कृति थाहा पाउन जान पर्छ । कहीँ बस्न मन लाग्छ । कुनै ठाउँको खाना मीठो लाग्छ,’ उनले भनिन्, ‘घुम्नु भनेको ठाउँममा पुग्नुमात्र होइन । को मान्छे भेटिन्छ, कस्तो खाइन्छ, कस्तो मौसम थियो भन्ने यादले ट्राभलसँग जोड्छ ।’


जीवनलाई दुःखको कुन अवस्थासम्म धान्न सकिन्छ भन्ने बुझ्न पनि घुम्न आवश्यक रहेको पूजाले बताइन् । यात्राले धैर्य र घुलमिल हुन सिकाएको अनुभव रिजालको छ । ‘ट्राभल भनेर हामीले दिमागमा वाह भन्ने बनाउँछौं । ट्राभल दुःख पनि हो । कहिलेकाहीँ क्याम्पिङ गर्दा कहिल्यै नगर्नु परोस् जस्तो हुन्छ,’ पूजाले थपिन्, ‘गन्तव्यमा पुग्ने लक्ष्य हुन्छ, कसैको जहाँसम्म पुग्छु अनि फर्कन्छु भन्ने हुन्छ । आफूलाई मनपर्ने कुरा र कसरी बाँच्न सकिन्छ भन्ने बुझ्न पनि घुम्ने हो ।’

Advertisement

ट्राभल दुःख पनि हो । आफूलाई मनपर्ने कुरा र कसरी बाँच्न सकिन्छ भन्ने बुझ्न पनि घुम्ने हो
पूजा रिमाल


मनोरञ्जनसाथै आफूमा परिवर्तन ल्याउन पनि घुम्नुपर्ने कञ्चनको भनाइ छ । घुम्न थालेदेखि आफ्नो सोचाइ र रुचिमा सकारात्मक परिवर्तन भएको उनलेसुनाए । ‘पहिला एनटिभीमा लोकदोहोरी बज्दा झर्को लाग्थ्यो । आजकल लोकदोहोरी र परम्परागत धुन बज्यो भने कहाँको रैछ, कुन भेगको रैछ, कसले गाउने रैछ भन्ने चासो लाग्छ,’ उनले भने ।

Advertisement


घुम्न जाँदा गाउँमा सहयोग गर्ने भावना देखेर आफू प्रभावित हुने गरेको र यो नेपालको सुन्दर पक्ष भएको राईले बताए । तर, विकासले गर्दा गाउँमा रहेको यो ‘असल मानवीय संस्कार’ गुम्न सक्ने चिन्ता उनले सुनाए । ‘कुनै गाउँ घुम्दा, नयाँ ठाउँ जाँदा हामी पर्यटक होइन । हामी बाटो हिँड्ने बटुवामात्र हो,’ उनले भने, ‘पानी वा चिया माग्यो भने यसले चियाको पैसा यति दिन्छ भनेर अपेक्षा गर्नु हुँदैन । त्यो नेपालको मीठो पाटो छ । तर, विकासले गर्दा विस्तारै गुम्दै जान्छ होला ।’


नेपालको पर्यटन बजारले डिजिटल हिसाबले काम गर्न नसकेको र ट्राभल एजेन्सीले आफूजस्तै घुमफिर गर्नेसँग सहकार्य गर्न सके दुवैलाई फाइदा हुने उनले बताए । स्थानीय तहले गाउँ ठाउँका गन्तव्य चिनाउन प्रयास गरे पनि यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको सुझाव छ ।


अरूलाई नयाँ गन्तव्य देखाउने र घुम्न प्रेरित गर्नेका भने आफ्नै दुःख छन् । क्यामरा लिएर ‘स्टोरी’ खोज्दै हिँड्दा घुम्नुको मज्जा लिन नसकेको राईको अनुभव छ । ‘घुम्ने भनेको क्यामरा लिएर त्यो ठाउँको बारेमा सोधखोज गर्ने कामजस्तो भइसक्यो । जसले गर्दा मेरो ५० प्रतिशत घुमाइको मज्जा घटेको छ,’ उनले भने । भूगोलमा सयौं गुणा ठूला देशभन्दा नेपाल सानो भए पनि धेरै विविधता रहेको तर त्यसलाई प्रयोग गर्न नसकेको राईले बताए ।


कहीँ घुम्न जानुअघि त्यो ठाउँको बारेमा अध्ययन गर्न, खर्चको हिसाब गर्न र सुरक्षाको अवस्था के छ भन्ने पनि थाहा पाउन उनको सुझाव छ । घुमफिरमा निस्कँदा डेटाबेसको अभाव र घुम्न जाने ठाउँबारे अध्ययन गर्ने स्रोतको कमी पर्यटन क्षेत्रको समस्या भएको पूजाले औंल्याइन् ।

तपाईको प्रतिक्रिया