त्युङ्ला मनाउँदै तीन गाउँले थकाली

जोमसोम ।
मुस्ताङका तीन गाउँले थकाली समुदायको महान पर्व ‘त्युङ्ला’ शुक्रबारदेखि सुरु भएको छ । त्युङ्ला तिब्बतीयन पात्रो अनुसार दोस्रो महिनाको छेव चौध तिथिदेखि तेस्रो महिनाको छेव एकसम्म विभिन्न धार्मिक क्रियाकलाप गरी मनाइन्छ ।
मुस्ताङको घरपझोङ १ चिमाङ, घरपझोङ ३ स्याङ र घरपझोङ ५ ठिनीमा बसोबास गर्ने तीन गाउँले थकाली समुदायको यो पर्व मुस्ताङबाट बसाइसराइ गरी अन्य जिल्लाका गएका र अस्थायी बसोबास गरेका तीन गाउँले थकालीले पनि मनाउने गरेका छन् । मुस्ताङमा तीनगाउँले थकालीले एकापसमा भेला भई ‘त्युङ्ला’ पर्व मनाउने गरेका छन् ।
‘त्युङ्ला’मा देश विदेशमा रहेका तीन गाउँले थकाली पनि पर्व गाउँ फर्किन्छन् । त्युङ्लाको शाब्दिक अर्थ तिब्बतीयन पात्रो अनुसार दोस्रो महिना हो । बर्सेनी दोस्रो महिनामा पर्व मनाईने भएकाले यसलाई तीन गाउँले थकाली समुदायले ‘त्युङ्ला’ पर्व भनी मान्ने गरेको हो ।
पर्वको सुरुवाती दिनमा तीन गाउँले थकाली समुदायले तारो हान्ने खेलको काठको धसा थाप्ने कार्य गरे । छेव चौध तिथिमा ठिनी, स्याङ र चिमाङ गाउँका थकालीले विभिन्न देवी देवतालाई थकाली गीत गाउँदै बोलाएर तारोको धसामा प्राणप्रतिष्ठा गरेका हुन् । धसालाई सांस्कृतिक प्रचलन अनुसार पूजाआजासमेत गरिएको छ ।
पूजाआजा र प्राणप्रतिष्ठापछि हान्ने खेल औपचारिक रुपमा सुरुवात गर्ने प्रचलन छ । पर्वको पाँचौं दिन तीन गाउँले थकालीले तारोको धसामा प्राणप्रतिस्ठान गरिएका देवीदेवतालाई खुसी पार्न छ्याङ, रक्सी, उवा र खानेकुरा चढाउने चलन रहेको ठिनीका स्थानीय आमप्रसाद थकालीले बताए ।
त्युङ्लाको अवसरमा ३ दिनसम्म दिवंगत पितृलाई खुसी पार्न बिहान र बेलुकी पूजा गर्ने गरिन्छ । त्युङ्ला पर्व तीन गाउँले थकालीको महान पर्व भएकाले हर्षाेल्लासका साथ मनाइने ठिनी गाउँका मुखिया सञ्जय थकाली बताउँछन् । ‘त्युङ्लाको पितृ तथा कूल पुजा गर्ने तिथिमा कर्मघर गएका चेलीहरु माइती भेट्न आउँछन् । आउँदा फलफूल, रोटी, छ्याङ, रक्सी (फुभ्याङ) ल्याउँछन्,’ मुखिया थकालीले भने ।
माइती आएका चेली र छुट्टिएर बसेका दाजुभाइले ल्याएका प्रसाद सबै दिवंगत पितृलाई चढाउने गरिन्छ । छेव चौधका सुरुवाती ३ दिनसम्म पितृ पूजा गर्ने र पितृलाई चढाइएका खानेकुरा पूजा सकिएपछि अस्तु राखेको ठाउँ (फु छेव)मा बिर्सजन गर्ने गरिन्छ ।
तिब्बती पात्रोको त्युङ्ला महिनाको छेव चौधदेखि तेस्रो महिनाको छेव एकसम्म मनाइने त्युङ्ला दुई सातासम्म चल्ने ठिनीका आईतबहादुर थकालीले उल्लेख गरे । त्युङ्लाकै अवसरमा प्रकृति पूजा गरेको भोलिपल्ट थकाली गित गाउँदै खेतबारी (स्हिनकोर) घुम्ने गरिन्छ । यसरी खेतबारी घुमेको पर्सीपल्ट तिथि २५ मा नाङ्खोर अर्थात गाउँभित्र मात्र थकाली गीत गाउँदै परिक्रमा गरिन्छ ।
ययसपछि ज्येष्ठ नागरिकले गाउँ परिक्रमा गर्ने टोलीलाई आशीर्वाद दिन्छन् । उइमेन(केटी)हरुले पनि थकाली गीतबाट आशीर्वाद दिन्छन् । पर्वको पाँचौ दिन तिथि १८ मा पितृपूजा विर्सजनसंगै तीन गाउँले थकाली समुदायका महिला र पुरुषहरुले थकाली भाषामा दोहोरी गाएका छन् । मुस्ताङमा फूल्ने विभिन्न फूलको नाम, महत्व, परिचय, प्रयोग लगायतका बिषयमा प्रश्नोउत्तर शैलीमा उनीहरुले गीत गाएका हुन् ।
भाषा र संस्कृति जोगाउन थकाली कला, संस्कृति र मौलिकता पुस्तान्तरण गर्न आवश्यक रहेको घरपझोङ ५ का वडाध्यक्ष प्रदीप थकाली सुनाउँछन् । अन्य थकालीहरुले तोरन्ल्ह र तेरमी पर्व धूमधामका साथ मनाउँछन् ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया