सजायकाे अभावले बालयौन दुराचारी बढे

समाधान संवाददाता २०७६ असार २३ गते १२:२२

समाधान संवाददाता
पोखरा

नेपालमा अन्य देशको तुलनामा बालयौन दुराचारको सजाय कम छ । सजाय कमजारे भएकै कारण केही विदेशी यौनदुराचारी त्यस्ता गैर कानुनी क्रियाकलाप गर्नको लागि नेपाल आउने गरेको पाइएको छ । सिविन नेपालका प्रोगाम कोअर्डिनेटर माधव लोहनीले सजाय कम भएको कारण नेपालमा बालयौन दुराचारीमा संलग्न विदेशी नागरिकको संख्या बढ्दै गएको दावी गरे । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बालयौन दुरुपयोगको कसुर गर्ने व्यक्तिको लागि ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरेको छ । उनका अनुसार नेपालका कानुनमा बाल यौनदुराचारीको लागि सजायको व्यवस्था थिएन ।

सिविन नेपालले आइतबार आयोजना गरेको यात्रा र पर्यटन क्षेत्रमा बालबालिका विरुद्धमा भैरहेका हिंसा, दुव्र्यवहार,बलात्कार र यौन दुराचारका विषयमा स्थानीय सरोकारवालाबीच गरेको छलफल कार्यक्रममा उनले नेपाली बालबालिका हिनता बोध र लाजका कारण अरुलाई नसुनाउने हुँदा कतिपय यस्ता घटनाहरु बाहिर आउन नससकेको जानकारी दिए । उनले पछिल्लो समयमा बढ्दो सचेतना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सक्रियताका कारणले बालयौन दुराचारको घटना विस्तारै बाहिर आउन थालेका बताए । ‘नेपाल आउने विदेशी सवै एकै किसिमका हुँदैनन,’ उनले भने, ‘समाजसेवीको आवरणमा यौन दुराचार हुने गरेको छ । कमजोर आर्थिक अवस्था बालबालिका यसको निसानामा पर्ने गरेको पाइएको छ ।’ उनले गलत नियतले आउने पर्यटकले बालबालिकालाई हानी पुर्‍याउन सक्ने बताए ।

Advertisement

उनले नेपालमा अहिलेसम्म न्यायिक तथा अर्ध न्यायिक निकायमा १७ यौनदुराचारका मुद्दा परेको जानकारी दिए । उनका अनुसार पीडितले मुद्दा दर्ताको प्राथमिकता नदिने, आर्थिक प्रलोभनमा परेर लेनदेन र मेलेमतोमा मुद्दालाई अगाडि नबढाउने, अदालतमा मुद्दा परे पनि गुपचुपमा राख्ने लगायतका कारणले बालयौन दुराचारका मुद्दा अनुसन्धानमा आइ पर्ने चुनौती हुन् । उनले बालयौन दुराचारीको अन्तर्राष्ट्रिय जालो सक्रिय भएकाले अनुसन्धानमा चुनौती थपिएको बताए । बाल दुराचारका घटना रोक्न सरकार, नागरिक समाज र निजी क्षेत्र बीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले बनेका कानुन, नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यन्वयनमा जोड दिए ।

राष्ट्रियताको पृष्ठभूमिमा आधार मानेर हेर्र्दा सवै भन्दा बढी फ्रेन्च नागरिक नेपालमा बालयौन दुराचारमा सम्लग्न छन् । जर्मन, डच, क्यानेडियन र ब्रिटिस दोस्रो पंक्तिमा पाइएको छ । साउदी अरेवियन, भारतीय नागरिक, अमेरिकन, अस्ट्रियन पनि नेपाली बालबालिका माथि यौन दुराचारमा संलग्न रहेको पाइएको उनले बताए । पश्चिमा देशमा विद्यालयको पाठ्यक्रममा यौन शिक्षा समावेश गरिएको उल्लेख गर्दै उनले नेपालमा पनि प्रजनन् शिक्षाको बारेमा शिक्षकले कक्षामा नपढाउने आफै पढेर आउ भन्ने कारण त्यस्ता घटनामा वृद्धि भएको दावी गरे ।

Advertisement

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले यौन दुराचारीले सामाजिक सञ्जालमा जोडिएर सम्बन्ध कायम गरी दुव्र्यवहार गरेको बताए । विदेशी नागरिकले एकद्धार प्रणाली अन्तर्गत सरकारी निकायबाट मात्र सहयोग गर्ने नीति बनाउन पर्ने उल्लेख गर्दै उनले सिमाना र विमानस्थलहरुमा सचेतनामूलक बोर्ड राख्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा पोखरा ६ का अध्यक्ष जगतबहादुर पहारी, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य अग्नी कँडेल, सिविन नेपालका अध्यक्ष माधव प्रधान, सामुदायिक सेवा केन्द्र बैदामका पूर्वअध्यक्ष मंगल नेपाली, बालमञ्च पोखरा महानगरका प्रतिनिधि दीपेश अधिकारी लगायतले प्रविधिका विकास क्रमसँगै बालबालिका माथि हिंसाका घटना न्यूनीकरणका लागि चुनौती थपिएको बताए ।

तपाईको प्रतिक्रिया