धम्पुसमा ३० गतेबाट पर्यटन उत्सव

समाधान संवाददाता २०८० फागुन ३० गते ११:२९

अन्नपूर्ण ।
कास्कीको पर्यटकीय गाउँ धम्पुसमा पर्यटक भित्रयाउन उत्सव हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसस्थित मिलन युवा क्लबको आयोजनामा यही फागुन ३० देखि धम्पुस उत्सव–२०८० हुने क्लबका अध्यक्ष ललित पुनले जानकारी दिए ।

Advertisement


आगामी चैत ३ गतेसम्म सञ्चालन हुने उक्त उत्सवमा आन्तरिक तथा बाह्य पर्यटक धम्पुस पुग्ने छन् । माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले धम्पुुस पुरानो गन्तव्य भएकोले पर्यटनको प्रवद्र्धन गर्न उत्सवले सहयोग गरेको जनाए ।


‘धम्पुस पहिलेदेखि कै पर्यटकीय गन्तव्य हो । यहाँबाट माछापुच्छ्रे हिमालबाट माछाको आकृति प्रष्ट देखिन्छ,’ वडाध्यक्ष भण्डारीले भन्नुभयो, ‘अहिले ढकमक्क लालिगुराँस फुलेको छ । यो उत्सवले धम्पुसको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वासका साथ वडा कार्यालयले पनि सहयोग गरेको छ ।’

Advertisement


धम्पुस क्षेत्रमा ठूलासाना गरेर ३६ भन्दाबढी होटल सञ्चालनमा रहेको वडाध्यक्ष भण्डारीले बताए । ती होटलमा एक दिनमा ५ सयभन्दा बढी व्यक्ति बस्न मिल्छ । पोखराबाट सहजरूपमा उत्सवस्थलमा पुग्न सकिन्छ । उत्सवको मुख्य आकर्षणमा कास्की जिल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष पुनले बताए ।


प्रतियोगितामा करिब २५ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेतालाई १ लाख तथा उपविजेतालाई ६० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्सवमा क्लबस्तरीय महिला भलिबल प्रतियोगितासमेत हुने भएको छ । प्रतियोगिताको विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजार प्रदान गरिने छ । भलिबलको पुरुषतर्फ सान्त्वना हुने दुबै टिमलाई १० हजार प्रदान गरिने छ ।

Advertisement


भलिबलको पुरुष तथा महिलातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार, विधागत पुरस्कारमा जनही २ हजार ५ सयका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक बुद्ध सिंहले बताए । योसँगै पुरुष रस्साकस्सी प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता, सामूहिक महिला नृत्य प्रतियोगिता पनि हुने खेल संयोजक सिंहले सुनाए ।

तपाईको प्रतिक्रिया