भारतीय सहरमा निम्तो र पर्यटकसँगको व्यवहार

शीतल हावापानी । प्राकृतिक सुन्दरता । छोटो दुरीमा अचम्मैको भौगोलिक विविधता । यी र यस्तै विशेषताले पोखराले विदेशी पाहुना निम्त्याउँछ । यहाँको मनोरम दृष्यलाई क्यामेरामा मात्र हैन मनमा कैद गरेर जान्छन् । उनीहरुले आफन्त र साथीभाइलाई पोखराको बारेमा बताउँछन् । पोखरा जान प्रेरित गर्छन् । तेस्रो मुलुकका नेपाली पोखरा आउने मुख्य आधार नै यही हो ।
त्यसो त मोरिस हर्जोगले लेखेका पुस्तकले पोखरा र समग्र नेपाललाई चिनाउन सफल भए । त्यसले पनि विदेशी पर्यटकलाई पोखरा आउन प्रेरित गर्यो । पोखरा र पोखराका बारेमा बनाइएका डकुमेन्ट्री विदेशमा प्रदर्शन गरेर समेत निम्तो बाँडिएकै हो । पहिला गोरो छालाका लागि मात्र सीमित पर्यटन व्यवसाय अहिले आएर फराकिलो भएको छ ।
आन्तरिक पर्यटन फस्टाएको छ । त्यो भन्दा पनि छिमेकी मुलुक चीन र भारतीय पर्यटकको चाप पोखरामा बढ्दो छ । पोखरामा भारतीय चाप बढ्नुको कारण प्रचारप्रसार १ नम्बरमै पर्छ । पश्चिमाञ्चल होटल संघले गर्मीको सिजनमा भारतीय सहरमा पुगेर पोखराको बारेमा प्रचार गर्न थालेको झन्नै १ दसक हुन लाग्यो । त्यसैको प्रभाव भन्नुपर्छ अहिले लेकसाइडमात्र होइन पृथ्वीचोक र महेन्द्रपुलका होटेलमा समेत भारतीय पर्यटकको चहलपहल बढेको छ । त्यसैले आफ्नो उत्पादनलाई अरुसमक्ष चिनाउने भरपर्दो माध्यम नै प्रचार हो । जुन कुरालाई हानले नियमितता दिँदै आएको छ ।
हो, भारतका गुजरात, चेन्नाई, हरिद्वार, पटना, लखनउ लगायतका सहरबाट ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आउने गरेका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अनुसार सन् २०१८ मा २ लाख बढी भारतीय पर्यटक पोखरा आएका थिए । तर त्यो भन्दा बढी पर्यटक सडकमार्ग प्रयोग गरेर पोखरा आउने गरेका छन् । तर तथ्यांक नभएकाले एकीन संख्या निकाल्न भने सकिएको छैन । अहिले भने गण्डकी प्रदेश सरकारले पोखरा भित्रनै दुवै राजमार्गमा पर्यटन सूचना केन्द्र राखेको छ । अब भने सही तथ्यांक आउला । पोखरा आउने मासिक ३६ हजार पर्यटकमा सरदर २५ हजार पर्यटक भारतीय नै छन् । भारतीय पर्यटक नेपालमा सरदर ५ दिन र पोखरामा मात्रै २ दिन बिताउने गरेका छन् । उनीहरुले सरदर दैनिक रुपमा ३० देखि ४० डलरसम्म खर्च गर्ने गरेका छन् ।
प्रचार गरियो । निम्तो बाँडियो । भारतीय पर्यटक नेपाल र पोखरा आउने क्रम पनि बढ्यो । तर भारतीय पर्यटकप्रतिको व्यवहार सुधार गर्न जरुरी छ । अनि नेपाल सरकारले पर्यटकका लागि आवश्यक सामान्य पूर्वाधार तयारमा विशेष ध्यान दिनुपर्छ । प्रचारका लागि भारतका सहर पुगेको टोलीसँग त्यहाँका स्थानीयले गरेको गुनासो साँच्चिकै मननीय छ । अधिकांश भारतीयले पोखरामा शौचालयको ठूलो समस्या रहेको अनुभव सुनाए ।
पोखरा मात्र नभएर राजधानी काठामाडौंमै पनि भारतीय पर्यटकले अपमान खेप्नु परेको दुखेसो उनीहरुको छ । न बाटोमा राम्रो भारतीय खाजा खाने रेस्टुरेन्ट हुन्छ न शौचालय हुन्छ । नेपाल प्रवेश गर्ने नाकामा सुरक्षाकर्मीको व्यवहारमा समेत उनीहरुको गुनासो छ । पोखरा ट्याक्सी चालकले ठग्नदेखि गाइडले समेत भनेको ठाउँमा नपुर्याए दिएर अलपत्र पारेका घटना पनि नभएका होइनन् । एकातिर प्रचार गर्ने अर्कोतिर आएका पर्यटकप्रति यस्तो व्यवहार हुने गर्दा यसले पोखरा र समग्र नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्नेतिर बेलैमा सचेत बनौं ।







गृह र अध्यागमनको टोली कोरला नाकामा
२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया