स्याङ्जा जिल्ला अदालत ६० प्रतिशत मुद्दा फर्छ्याैट

समाधान संवाददाता २०७६ साउन १ गते १४:०१

समाधान संवाददाता
स्याङ्जा

जिल्ला अदालत स्याङ्जाले यस आर्थिक वर्षमा ६० दशमलव ५५ प्रतिशत मुद्दा फर्छ्याैट गरेको छ । जिल्ला अदालतले पत्रकार सम्मेलन गर्दै अदालतबाट भए गरेका काम, कारवाही र सेवाका बारेमा जानकारी दिएको हो । अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले ७० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य भए पनि विविध कारणले लक्ष्य हासिल नभएको सुनाए ।

अदालतले देवानीतर्फका ५ सय ५७ मुद्दामध्ये २ सय ८, दुनियावादी फौजदारीतर्फ १ सय ६ मध्ये ३३, सरकारवादी फौजदारीतर्फका ६० मध्ये ४३ र पुनरावेदन सरकारवादी फौजदारी २० मध्ये १५ वटा मुद्दा लगायत गरी ९ सय ५ वटा मुद्दामध्ये ५ सय ४८ वटा मुद्दा फर्छ्याैट गरेको हो ।

Advertisement

अदालतले २ वर्ष नाघेका २२ वटा र २ वर्षभित्रका २४ वटा मुद्दा फर्छ्याैट गरेको हो । अदालतमा सबैभन्दा बढी सम्बन्धबिच्छेदका २ सय ९६ मुद्दा दर्ता भएकोमा २ सय १६ वटाको फैसला भएको आचार्यले बताए ।

पुरुषतर्फबाट ६७ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा १२ वटामा सहमति भएको छ । पुरुषबाट दर्ता भएका ५५ सहित ८० वटा मुद्दा फैसला हुन बाँकी छन् । बहुविवाहतर्फका १५ मध्ये ७ वटा फैसला भएका छन् ।

Advertisement

अदालतमा मेलमिलापतर्फ ७१ मुद्दामध्ये ३२ वटामा सफलता मिलेको छ । २८ वटामा मेलमिलापको प्रयास असफल भएको र ११ वटा प्रक्रियामा रहेको उनले बताए । अभिलेख व्यवस्थापनतर्फ १ हजार २ सय ८६ मिसिल अदालतले नष्ट गरेको र १९८० देखिका ३९ हजार १ सय १९ वटा मिसिल रहेको आचार्यले बताए ।

अदालतले मेलमिलापकर्ता, परामर्श सेवा, वैतनिक कानुन व्यवसायीको व्यवस्था, मिट द जज, न्यायिक संवाद, वार र वकिल सम्बन्ध, बाल न्याय लगायत अर्धन्यायिक निकायसँगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाल इजलास र पारिवारिक महिलासम्बन्धी संवेदनशील मुद्दा गोप्य इजलासमा बहस गरिँदै आएको जिल्ला न्यायधीश रमानाथ पौडेलले जानकारी दिए । उनले ३ महिनामै १ सय ६० वटा मुद्दा फस्र्छाैट गर्न सफल भएको बताए ।

तपाईको प्रतिक्रिया