पाेखरामा अब नक्सा पास अनलाइनबाटै

समाधान संवाददाता २०८१ वैशाख २७ गते १०:२४

पोखरा ।
घरनक्सा पासको काम अब पोखरा महानगरपालिकामा अनलाइनबाटै हुने भएको छ । नक्सा पासको किताब पनि विस्थापित गर्दै महानगरपालिकाले विद्युतीय प्रविधिबाट उपलब्ध गराउने भएको छ । नक्सा पासका लागि नगरपालिकाको कार्यालय पनि पुग्न नपर्ने गरी प्रणाली विकास गर्न लागिएको छ ।


नक्सा बनाउने इन्जिनियरहरुमार्फत अनलाइनबाट आवेदन दिई स्वीकृत लिन सकिने मेयर धनराज आचार्यले जानकारी दिए । यस्तो प्रणालीका लागि आवश्यक प्राविधिक पक्षमा संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी)ले सहयोग गरेको छ । उसैले तयार गरेको सफ्टवेयरबाट अनलाइनमार्फत घरनक्सा पासको काम गर्न सकिने भएको हो ।


विद्युतीय माध्यमबाट नक्सा पास गर्ने प्रयोजनकै लागि महानगरपालिकाले सम्बन्धित इन्जिनियरहरुलाई तालिम दिएको छ । तालिमको बुधबार मेयर आचार्यले उद्घाटन गरेका थिए । तालिममा महानगरपालिकाका र स्वतन्त्र रुपमा इन्जिनियरिङ परामर्श सेवाको व्यवसाय गर्दै आएका इन्जिनियरहरु सहभागी छन् ।

Advertisement


मेयर आचार्यले नक्सापासभन्दा बढी घर तथा भवन बनाउन नियन्त्रण गर्ने र सडक मापदण्ड पालना कडाइ गर्ने पनि जानकारी दिए । त्यसका लागि उनले इन्जिनियरहरूलाई मापदण्ड पालना गराउने भूमिका खेल्न आग्रह गरे ।


पोखराको भूगर्भको अवस्थिति अनुसार घर तथा भवन मापदण्ड लगायत तयार पारिएको पनि जानकारी दिए । अहिलेसम्म तदर्थ तरिकाले मापदण्ड चल्दै आएकोमा महानगरबाट पहिलोपटक मापदण्ड बनाइएको उनले सुनाए ।

Advertisement


तालिमका सन्दर्भमा युएनडिपीका सुदीप अर्यालले विद्युतीय घरनक्सा स्वीकृति प्रणाली काठमाडौं, ललितपुर लगायत नगरपालिकाहरुमा सुरु भइसकेको जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया