नेपालमै बन्दैछ ‘पानीजहाज’

समाधान संवाददाता २०७६ साउन ५ गते १२:००

समाधान संवाददाता
चितवन

चितवनका युवा मिलेर ‘रिभर क्रुजसिप’ अर्थात् पानीजहाज बनाइरहेका छन् । राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा ६ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ ।

उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन् । ‘म युरोपमा भएको बेला स्वीडनबाट फिनल्यान्डसम्म क्रुजमा यात्रा गर्दा नेपालका नदीहरूमा पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ भन्ने लागेको थियो,’ कँडेलले भने । त्यही विचारलाई मूर्त रूप दिन साथीहरूसँग मिलेर पानीजहाज बनाउने काम थालेको उनले बताए ।

Advertisement

नेपालमा पहिलो पटक पानीजहाज बन्न लागेको कँडेलको दाबी छ । त्यसका लागि सिंगापुर, मलेसिया, चीन, जर्मनी र भारतका क्रुज नर्माता कम्पनीमा गएर अवलोकन गरिएको उनले बताए । नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सिंगापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन १ वर्षसम्म गरेका थिए ।

पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ । भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ ।

Advertisement

पर्यटन वर्ष सन् २०२० लाई लक्ष्य गरी निर्माण गरिएको पानीजहाज सञ्चालनमा आएपछि त्यसले पर्यटनमा सघाउ पुर्‍याउने योजनाकारको अपेक्षा छ । चितवन घुम्न आउने पर्यटकहरूले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पान जहाजको पनि मज्जा लिऊन् भन्ने आफ्नो उद्देश्य रहेको कँडेलले बताए ।

कँडेलले भने, ‘नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो ।’ २ महिनापछि सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट–गोलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको छ । नारायणी र राप्ती नदीको दोभानमा रहेको गोलाघाट चितवन र नवलपरासी जिल्लाको सीमामा छ ।

१ सय मिटर लम्बाइ र २५ मिटर चौडाइ रहेको उक्त पानीजहाजमा २ तले हुनेछ र त्यसमा २ सय जना अट्छन् । पानीजहाजमा बिहान, दिउँसो र बेलुकीको खाना तथा खाजाको व्यवस्था हुने छ । पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाट सम्मको यात्रा पूरा गर्न तीन घन्टा लाग्नेछ । पानीजहाजको चढ्न र झर्ने पोर्ट भने चितवनको ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा बनाइएको छ ।

तपाईको प्रतिक्रिया