बालोदय माविमा मतदानबाट नेतृत्व चयन

पोखरा ।
बालोदय माध्यमिक विद्यालय पोखरामा विद्यार्थी क्लबहरुको नेतृत्व चुन्न निर्वाचन गरिएको छ । विद्यालयमा गठित विद्यार्थीका ६ क्लबको नेतृत्व मतदानबाट छानिएको हो ।
निर्वाचन समिति गठन गरी निश्चित समयतालिका बनाएर विभिन्न चरणमा निर्वाचन सम्बन्धी विविध गतिविधि सञ्चालन गरिएको थियो । वैशाख २६ गते प्रदेश निर्वाचन कार्यालय गण्डकीका कार्यालय प्रमुख नारायण ढकाल तथा सूचना अधिकारी रुद्र न्यौपानेद्वारा निर्वाचन पद्धतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।
अभिमुखीकरणपछि चरणबद्ध रुपमा आइतबार निर्वाचन भएको निर्वाचन समिति संयोजक रघु ज्ञवालीले जानकारी दिए । यो स्कुलमा बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा प्रविधि क्लब, बालोदय कला तथा शिल्प क्लब, जुनियर रेडक्रस सर्कल, बालोदय पर्यटन क्लब र थ्रिबी क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष पदका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत चुनाव भएको हो ।
यसका लागि ६५ विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । कक्षा ६ देखि १० सम्मका ४ सय ३५ जना विद्यार्थीले मतदान मत हालेका थिए । बिहान ११ बजे सुरु भई दिउँसो ४ बजे मतदान सकिएको थियो । मतदान कार्यक्रमलाई मर्यादित बनाउन मतदान अधिकृतका रुपमा सहक्रियाकलाप विभाग प्रमुख ईश्वर ढकाल तथा सहायक कर्मचारीका विद्यार्थीहरु खटिएका थिए ।
प्राचार्य टेकनाथ पौडेल, सहप्राचार्य रामप्रसाद तिवारी, सूचना प्रविधि इन्चार्ज रघु ज्ञवाली, शैक्षिक विभाग प्रमुख यादबहादुर अधिकारी, १०+२ इन्चार्ज रमेशकुमार आचार्य तथा १०+२ संयोजक टंकप्रसाद पौडेलले पर्यवेक्षकको भूमिका निर्वाह गरेका थिए । प्राचार्य पौडेलले पाठ्यक्रमले निदिष्ट गरेका उद्देश्यलाई व्यवहारिक र प्रयोगात्मक रुपमा हाँसिल गर्न यस्ता गतिविधि सहयोगी हुने जनाए ।
तपाईको प्रतिक्रिया