कविता जस्तै जीवन बाचेका कवि

भोकभोकै मर्न लागे कवि कलाकार
तड्पाएर नमारिदेऊ झुन्डाएर मार
जनकवि गोकुल जोशी
विक्रम संवत १९८७ सालको जेठ ८ गते बुबा हरिलाल पोखरेल र आमा मनरुपाका कोखबाट तनहुँ जिल्लाको राईपुर खोलाखेतमा जन्मिएका गोकुलप्रसाद पोखरेलको साहित्यिक नाम गोकुल जोशी हो । निम्न वर्गीय किसान परिवारका मियो हरिलालको देहावसान हुँदा गोकुलको उमेर सात वर्षको थियो । सात जना सन्तानको पालनपोषण मनरुपाका लागि आकासको फल जस्तै थियो ।
भाइ बहिनीको मार्मिक अवस्थाले उनको भित्री मन चिमोटेको थियो । गाउँका युवाको लहैलहैमा १३ वर्षे गोकुल वि.स.२००० सालमा भारत भास्सिएका थिए । चलाख र कुशाग्र गोकुलले साँवाअक्षर भारतमा काम गर्दागर्दै सिके ।
सानै उमेरमा विदेश हिडेका गोकुलको जीवन अस्तव्यस्त बन्यो । भारतका सहरमा कान्छा र बिक्रेता बनेका गोकुल जोशी पल्टनमा भर्ती पनि भए । सानैदेखि चञ्चल र विद्रोही स्वभाव भएका जोशीले स्थायी भएर धन कमाउने सपना पूरा गर्न सकेनन् । २००७ सालको नेपाली क्रान्ति सम्पन्न भएपछि उनी स्वदेश फर्किए । उच्च तहका नेतालाइ राम्ररी चिनेका इमान्दार स्वाभिमानी गोकुल जोशीले काठमाडौको हवाई अड्डामा स्टोर किपरको जागिर पाए ।
२००८सालमा बल्लतल्ल जागिरे जीवनलाई कविताको लालिमाले पोत्दै श्रम र पसिनाको महिमा गाउदै थिए, आफ्नो दायित्व बुझ्दै थिए, मजदुर आन्दोलन उठिहाल्यो । विद्रोही गोकुल जोशीलाई आन्दोलन भड्काएको आरोपमा जागिरबाट निकालियो । अब कामको खोजीमा भौतारिदै कविता लेख्न थाले । सामान्य गोकुलको कलमले सशक्त कविता ओकल्न थाल्यो ।
उनका कविता बेसरी बिक्न थाले । त्यति बेला कविता बेचेर बाँचेको कुरा इतिइहासमा घामझै छर्लङ्ग छ । गोकुलका सिर्जनाले समाजमा चेतनाको ज्योति बाल्यो, जागरण पनि फैलायो । त्यसपछि उनले नयाँ शैली अगालेको देखिन्छ।देश भक्तिको एउटा गीत हेरौंः
तामो खानी फलाम खानी नेपालमा रैछन्
नयाँ नयाँ खानीहरु पनि पाइदै छन्
हामीलाइ पुग्ने जति अन्न पनि हुन्छ
दुनियाँमा हाम्रो भन्दा राम्रो देश कुन छ
कति राम्रो नेपाल हाम्रो, हिमालको काखमा सुतेको ।
अभावै अभावमा पिल्सिएका जोशीको जीवनलीला मुटु हल्लाउने खालको छ, कवि व्यक्तित्व भने ऊर्जावान् र प्रेरणादायी छ
२००९ सालपछि उनको नयाँ शैली नेपाली साहित्यिक परम्परामा स्मरणीय र अमर रहेको छ । २००९ सालदेखि २०१८ सालसम्मको अवधिमा गोकुलले आफ्नो प्रतिभाको पूरा परिचय दिएका छन् । यही समयमा उनले छ वटा कृति प्रकाशन गरेका छन् । प्रकाशन भएका पुस्तक सबै कविता र गीतका छन् । उनका किताव यस प्रकार छन् ।( १) नेपालको भविष्य (२०११), २)एसियाको फूलबारी नेपाल (२०१२), ३) नव प्रभात (२०१२), ४) डा केआई सिहलाई स्वदेश आउन देऊ (२०१२२), ५) बाच र बाच्न देउ (२०१४), ६)सीमानाको दीप(२०१५) ।
उहाँका फुटकर रचना पनि प्रशस्त छन् । यसै समयमा देशका विभिन्न जिल्लामा कविता वाचन गर्दै हिडेका छन् र अहिले जस्तो स्कुल, कलेज, सडक, मोटर, बिजुली बत्तीको सुविधा नभएको सञ्चारको सुविधा शून्य भएको बेलामा पैदल हिडेर सबै काम भ्याउनु कठिन काम हो । गोकुलले जम्मा जम्मी ९ वर्षमात्र कविता लेखे । उनी ३१ वर्ष बाचे, १५/१६ वर्षको उमेरमा सावा अक्षर चिने ।
५/६वर्ष कामको खोजीमा भौतारिदै हिडे अनि बाँकी ८/९ वर्षमात्र सिर्जनामा लागे । उनको जीवनमा कहिले पनि चम्किलो घाम लागेन तर रुद्धिएको समयमा पनि गरीब, दुखी महिला किसान भरिया र परिश्रमी खेतालाका गीत, कविता लेखेर नेपाल र भरतका सहमा गाउँदै हिडे । उनको ढाक्रे कविताले कति सफा चित्र खिचेको छ ।
वर्षाभरी काल काटी हिउँद लागेपछि
लुगा फेर्न सुन्तला र सुठो बोकी बोकी
जंगलको जडिबुटी सगालेको घिउ
बेच्न हिडे ढाक्रे दाजु गर्दै सिउ सिउ ।
जीवनभर अविवाहित रहेका गोकुल जोशी नेपाली जनताका जनकवि भएर रहे । कर्तव्य हक अधिकारका गीत गाउँदै बाचे । समाजमा परिवर्तन र अग्रगमनका कविता उरालिरहे । पुन उनी भारत पसेर नेपाली बसेका देहरादुन भाक्सु असाम दार्जिलिङ सिक्किमतिर डुलेर साम्राज्यवाद विस्तारवादको विरुद्ध गीतिलयमा स्वर घन्काईरहे । नेपालीलाई विदेशी पल्टनमा नजाऊ हक अधिकारका लागि लडेका गरिबलाई नमार आफ्नै देशमा पसिना पोख देशलाई माया गर मातृभूमिलाई हसाउ भन्ने सन्देश दिएका छन् ।
जीवनभर अभावै अभावमा पिल्सिएका जोशीको जीवनलीला मुटु हल्लाउने खालको छ तर उनको कवि व्यक्तित्व ऊर्जामय, प्रेरणादायी र चेतना फैलाउने किसिमको छ । समग्रमा गोकुल प्रगतिशील समाजवादी भौतिकवादी र रुपान्तरणकारी कवि हुन् । मूल कुरा शोषण दोहन अन्याय अत्याचार भ्रष्टाचार कुरीतिका कट्टर विरोधी अभियान्ता हुन् । साम्राज्यवाद र विस्तारवादलाई उनको मलाय नजाउ कविताले विरोध गरेको छ । मुटु खाने गिद्ध आयो शीर्षक कविताले यसो भन्छः
एसियाको मुटु हाम्रो पुण्य मातृभूमि
मुटु खाने गिद्धहरु आए विश्व घुमी
पस्यो हाम्रो नेपालमा लडाइँको भोको
बस्यो अब डकरको फुकाएर पोको
जोगाउ नेपाल हाम्री भगाउ साम्राज्यवादीलाई
लोक लय त्यसमा पनि झ्याउरे भाकामा गोकुलका गीत संसारै हल्लाउने गरी घन्किएका छन् । उनका सिर्जनालाई भारतका चर्चित साहित्यकार राहुल सास्कृत्यानले पनि उच्च मूल्यांकन गरेका छन् । उनका बारेमा धेरै लेखक साहित्यकार र समालोचकले आफ्ना मत राखेका छन् । श्यमप्रसाद शर्मा, ताना शर्मा, गोविन्द भट्ट, भवानी घिमिरे, भूपी शेरचन, जनकप्रसाद हुमागाई, डा रविलाल अधिकारी, डा जगदीशचन्द्र भण्डारी, डा कृष्णराज अधिकरी, विजय सुब्बा लगायत थुप्रैले उनका रचनाकाबारेमा चर्चा र परिचर्चा गरेका छन् ।
खेम परिश्रमी र ताराराज पौडेलले गोकुलका बारेमा शोधपत्र तयार पारेका छन् । विभिन्न पत्रपत्रिका र संघ, सस्थाले पनि गोकुलका बारेमा बेला बेला स्मृति अंक निकाल्दै सम्मान गरेका छन् । हालसम्म पनि सरकारी निकायले उनको योगदानको कदर गर्न सकेको छैन । भलै पोखराका प्रगतिशील तथा माक्र्सवादी लेखक विचारकहरुले जनस्तरबाट गण्डकी साहित्य संगम नामको संस्था गठन गरी गोकुल जोशीका नाममा अक्षयकोष राखेका छन् ।
यो संस्थाले एक एक वर्ष विराएर प्रगतिशील, प्रगतिवादी, आलोचनात्मक यथार्थवादी र द्वन्द्वात्मक भौतिकवादी धारमा कलम चलाउने साहित्यकारलाई ४० हजार राशिको गोकुल वाङ्मय पुरस्कार र २० हजार राशिको गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ । यी सबै कुराले गर्दा गोकुल जोशी कति महान कवि थिए भन्ने कुराको संकेत गर्दछ ।
गोकुल जोशी नदीझैं बगिरहे कुवा जस्तो एकै ठाउँ जमेर बसेनन् । उनी केही न केही लेखिरहे खालि हात बस्दै बसेनन् । छोटो आयु बाचेर पनि महत्वपूर्ण विषय उठाएका छन् । जनताको हक अधिकारका बारेमा सरकारकाई झक्झकाईरहे । जीवनभर आफ्नो देशलाई माया गरिरहे ।
महिला, दलित, गरिब, किसान, मजदुर, श्रमजीवीको पक्षमा गीत कविता लेखिरहे । आफ्नो व्यक्तिगत स्वार्थमा भुलेनन् । सबैलाई समान रुपको व्यवहार गरिरहे । स्वस्थ्यको ख्याल नगरी देश विदेश डुलेर प्रकाश छरिरहे । जनताको मन जितेर जनकवि बने । पैसा केही होइन, स्वाभिमान र नैतिकता महत्वपूर्ण विषय हुन भन्ने कुरा प्रमाणित गरे । जीवनमा सिद्धान्त र व्यवहारलाई मिलाएर बाचे । लेखे, त्यसलाई इमान्दार भएर व्यवहारमा लागू गरे ।
अन्त्यमा जनकवि गोकुल जोशी देश र जनताका गीत गाउँदा गाउँदै २०१८ साल असार ०४ गते झापाको घैलाडुवा भन्ने ठाउमा उनको देहावसान भयो । झापाका साहित्यकार, समाजसेवीले उहाको अन्तिम बिदाइ गरे । उनको घर तनहुँको राइपुरमा एक वर्ष पछिमात्र आमाले मृत्युको खबर पाइन् । उनको मृत्यु जस्तो भए पनि उनले गरेका असल कामले र कालजयी गीत कविताले उनलाई युगयुग अजर अमर बनाइरहने छन् ।
रोक्ने को हो, दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा ?
यस्ता कविता लेख्ने जनकवि गोकुल जोशीप्रति हार्दिक सम्मान छ । अहिलेको कवि, लेखकले उहाँको मार्ग पछ्याउनु जरुरी छ ।









पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
स्याङ्जामा धान उत्पादन बढ्यो
तनहुँमा स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया