गण्डकीका ४ बक्सर तौल समूहमा च्याम्पियन

समाधान संवाददाता २०८१ जेठ २० गते १२:३४

पोखरा ।

Advertisement


पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ । कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार अबेर सम्पन्न भएको हो ।


सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ५१ केजी तौल समूहमा बागमती प्रदेशका लालप्रसद उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित गरेका हुन् । महिलातर्फको ४८ केजी तौल समूहमा मधेस प्रदेशकी मनीषा राई प्रथम भइन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् ।


पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे । महिला ५० केजीमा बागमतीकी रमिसा श्रेष्ठले त्रिभुवन आर्मी क्लबकी लालुमाया खत्रीलाई पराजित गरिन् ।

पुरुष ६० केजीतर्फ सुदूरपश्चिमका रामबहादुर थापालाई पराजित गर्दै गण्डकीका शिव सिलवाल विजयी भए । महिला ५२ केजीमा सशस्त्र प्रहरीको एपीएफ क्लवकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भइन् ।

Advertisement


पुरुषतर्फको ६३ केजी समूहमा गण्डकीका निश्चल गुरुङले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा गण्डकीकी प्रियङ्का गुरुङ कोशीकी नारिका गुरुङसँग पराजित भइन् ।


पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशांग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । ७० केजी महिलातर्फ सशस्त्र प्रहरीको एपिएएफ क्लबकी विनीता थापा मगरले गण्डकीकी अस्मिता बस्नेतलाई पराजित गरिन् ।


७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदुरपश्चिमका भरत चन्दसँग पराजित भए । महिलातर्फ ७५ केजीमा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरिन् । पुरुष ७५ केजी तौल समूहमा बाग्मतीका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर विजयी भए ।


यस्तै पुरुष ८० केजीतर्फ बाग्मतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङलाई र ८६ केजीमा गण्डकीका किरन विकले लुम्बिनीका प्रसन थापालाई पराजित गरे ।

प्रतियोगितामा विजेता बक्सरलाई नगद २० हजार र उपविजेताले नगद १० हजार, प्रमाणपत्र र पदकद्वारा पुरस्कृत गरिएको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकरी दिए । उत्कृष्ट बक्सर गण्डकीका निश्चल गुरुङ र महिला तर्फ एपीएफकी विनिता थापामगर घोषित भए ।


विजेता र उपविजेता खेलाडीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, नेपाल बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, केन्द्रीय उपाध्यक्ष किरण श्रेष्ठ, रामबहादुर गिरी, गणेशबहादुर भट्टराई, महासचिव मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघ गण्डकी प्रदेश अध्यक्ष विद्याप्रसाद मर्सानी, जिल्ला अध्यक्ष सुमनकुमार श्रेष्ठ, महानगर बक्सिङ संघका सचिव बुद्ध गुभाजु लगायतले पुरस्कार वितरण गरेका थिए । बक्सिङ च्याम्पियनसिपमा महिलातर्फ १२ र पुरुष तर्फ १८ गरी ३० जना बक्सरले विभिन्न तौलमा भिडेका थिए ।


यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । पोखरामा राष्ट्रियस्तरको च्याम्पियनसिप नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक १७ वर्षपछि आयोजना भएको हो । यसअघि २०६४ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगिता पोखरामा आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया