स्थानीय तहको योजना र विकास पढाउने गृहकार्यमा गण्डकी विश्वविद्यालय
२ वर्ष अर्थात् ४ सेमेस्टरमा सैद्धान्तिक र व्यावहारिक पढाइ गरिने

पोखरा ।
गण्डकी विश्वविद्यालयले स्थानीय तहको योजना र विकास सम्बन्धी विषयको पढाइ सञ्चालन गर्ने गृहकार्य थालेको छ । मास्टर्स इन म्युनिसिपल प्लानिङ ‘एमएससी’ विषय पढाउने विश्वविद्यालयको तयारी हो ।
स्थानीय तहहरूलाई आवश्यक वर्षे मानव संसाधन उत्पादन लक्ष्यसहित विश्वविद्यालय अहिले पाठ्यक्रम निर्माणको तयारीमा छ । आइतबार उसले गण्डकीका विभिन्न स्थानीय तहका प्रमुखहरु तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग सुझाव लिएको छ ।
कुलपति प्राडा गणेशमान गुरुङका अनुसार प्रदेश र पालिकाका लागि आवश्यक जनशक्ति उत्पादनकै लागि विश्वविद्यालय स्थापना गरेको हुँदा सोही अनुसार पढाइको तयारी गरिएको बताए ।
तहको कार्यप्रकृति अनुसार कार्य सम्पादन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने र स्थानीय तहको कार्य प्रभाकारिता र कार्यदक्षता वृद्धि गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य प्राप्त गर्न सहयोग गर्न यो पहल थालिएको कुलपति गुरुङको भनाइ थियो ।
सरोकारावालासँगको छलफलमा आइतबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले प्रस्तुतीकरण गरे । २ वर्ष अर्थात् ४ सेमेस्टरमा सैद्धान्तिक र व्यावहारिक पढाइ गरिने डा शर्मा पौडेलले बताए ।
उनले आयोगमा रहँदा नै पालिकाहरूमा योजना निर्माणका लागि दक्ष जनशक्ति अभाव खट्किएको सुनाए । उनकै भनाइमा पढाइ ९ सय क्रेडिट आवरको हुने छ ।
विश्वविद्यालयको पढाइ एकातिर, लोक सेवा आयोगको परीक्षा अर्कोतिर र काम गर्नुपर्ने क्षेत्र झनै फरक हुने गरेको परिवेशमा योजना र विकास सम्बन्धी पढाइ आवश्यक महसुस गरिएको पौडेलको भनाइ थियो ।
पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने, विस्तृत आयोजना प्रस्ताव तयार गर्ने, खरिद योजनाको तयारी, विकास योजनाको निरीक्षण अनुगमन एवं मूल्यांकन र स्थानीय तहसम्बन्धी कानुनको अध्ययनबारे पढाइ हुने गरी पाठ्यक्रम प्रस्ताव गरिएको डा. पौडेलले बताए ।
‘यो विषयमा विकासका सिद्धान्तहरु, विकास अर्थशास्त्र, स्थानीय तर्थतन्त्रको विकास, राष्ट्रिय, प्रादेशिक र स्थानीय तहको लेखा, एप्लाइड तथ्यांक लगायतको पढाइ हुनेछ,’ उनले सुनाए, ‘सेमेस्टरमा योजनाका सिद्धान्त अभ्यास, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, औजार र विधि, अनुसन्धान पद्धति, स्थानीय तहको संस्थागत र मानव विकास, स्थानीय तहमा उद्यमशीलताको विकास र औद्योगिकीकरणबारे पढाइ हुनेछ ।’
स्थानीय तहको आवधिक योजना निर्माण, वार्षिक कार्यक्रम तथा बजेटको तर्जुमा, राजस्व परिचालन योजना तर्जुमा र कार्यान्वयन, मध्यमकालीन खर्च संरचना तयार र क्षेत्रगत रणनीति तथा योजना तर्जुमा लगायत पाठ्यक्रममा राख्न प्रस्ताव छ । विकास अवधारणा सम्बन्धी सबै काम नेपाली भाषामा नै हुने भएकाले पढाइ नेपालीमा गर्न समेत प्रस्ताव छ ।
छलफलमा पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरसहित पालिकाहरुमा कर्मचारी चाहिनेभन्दा बढी भए पनि चाहिएका बेला काम भने लिन नसकिएको बताए । भूगोलका आधारमा मुलुकभरकै ठूलो महानगरले पढाइ सञ्चालनका गर्नुपर्ने सहयोग गर्न तयार रहेको मेयर आचार्यले बताए ।
‘पोखरा महानगरपालिकाबाट स्कलरसिपमा कतिजना पढाउनु पर्ने हो भन्नुहोला, सहयोग गर्न म तयार छु,’ उनले भने । गण्डकी विश्वविद्यालयले स्थानीय योजना र विकास विषयमा पढाइ सुरु गर्न थाल्नु आफैमा राम्रो पक्ष रहेको उनको भनाइ थियो ।
विश्वविद्यालयका उपकुलपति डा. नवराज देवकोटाले मुलुकभर धेरै विश्वविद्यालय रहे पनि गण्डकी सरकारले खोलेको यो संस्था भिन्न तरिकाले सञ्चालनमा आएका र बजारको माग अनुसारको जनशक्ति उत्पादनमा लागेको बताए ।
विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले हाल ५ कार्यक्रम सञ्चालनमा रहेको, ४ सय ६० जना विद्यार्थी, २७ जना स्थायी शिक्षण कर्मचारी र व्यवस्थापनका लागि ५३ कर्मचारी रहेको जानकारी गराए । रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले पालिका र प्रदेश सरकारसँग समन्वय गरी यथाशक्य छिटो पढाइ थालिने बताए ।
कार्यक्रममा प्रदेशका विभिन्न पालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी थिए । पालिकाको कार्यक्षेत्र धेरै भए पनि त्यस अनुसारका कर्मचारी नहुँदा समस्या परेको उनीहरुले सुनाए । यस्तो अवस्थामा विश्वविद्यालयले थालेको पहल सह्रानीय रहेको उनीहरुको भनाइ थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया