
मनाङ ।
मनाङमा हालसम्म सुविधासम्पन्न अस्पताल छैनन् । सामान्य उपचारका लागि छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । लामो समयदेखि जिल्लामै उपचार गर्न पाउने पर्खाइमा मनाङबासी छन् ।
२०४६ फागुन १९ मा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ । नयाँ भवन निर्माण भएको छैन । मनाङ पर्यटकीय जिल्ला भएकाले पर्यटकलाई लेक (हाइअल्टिच्युड) लाग्ने समस्याले बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आउँछन् ।
तर भने जस्तो उपचार सेवा नपाउँदा समस्या हुने गर्छ । अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ ।
सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था छ । नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको वर्षौँ भइसकेको छ । पटक पटक म्याद थप गर्दा पनि अस्पताल भवन निर्माण हुन सकेको छैन ।
१४ करोडमा ओम बुद्ध/बुद्ध जेबी कम्पनीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो । १५ शैय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यले भवन निर्माण गर्न प्रदेश सरकारले ४ वर्षमा ३ पटक म्याद थप गरिसकेको छ ।
जिल्ला अस्पतालमा १८ जनाको स्थायी दरबन्दी छ । तर, अस्पतालमा ५ जनामात्र कार्यरत छन् ।
ओम बुद्ध÷बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको बताए । उनले रङरोगन तथा टायल बिच्छ्याउने काम भइरहेको जानकारी दिए ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले विसं २०७५ देखि गण्डकी प्रदेश अन्तर्गत सञ्चालन हुँदै आएको अस्पतालबारे भर्खरै मात्र प्रदेशमा समस्याबारे जानकारी गराएको बताए ।
अध्यक्ष घलेले भौतिक रूपमा कार्य प्रगति मूल्यांकन गरेर यही असार मसान्तसम्ममा नयाँ भवनबाट अस्पतालले सेवा दिनेमा आफू विश्वस्त रहेको सुनाए । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा भारती मेहताले मुख्य ठेकेदार र स्थानीय (पेटी) ठेकेदार बीचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको सुनाइन् । भनिन्, ‘भवनमात्रै भएर के गर्नु, दुर्गममा दरबन्दी अनुसार दक्ष जनशक्ति हुनुपर्यो त्यो छैन,’ उनले भनिन् ।
जिल्ला अस्पतालमा १८ जनाको स्थायी दरबन्दी छ । तर, अस्पतालमा ५ जनामात्र कार्यरत छन् । १३ जनाको दरबन्दी रिक्त छ । डा भारतीका अनुसार दरबन्दी अनुसारको दक्ष जनशक्ति नहुँदा दुई ‘सिफ्ट’मा काम गर्ने अवस्था छैन । दुर्गममा कर्मचारी आउनै नमान्ने भएकाले थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको उनको गुनासो छ ।
डा भारतीले भनिन्, ‘अन्य अस्पतालको वार्षिक आम्दानी ५ करोडभन्दा बढी हुन्छ । हाम्रोमा २० को टिकटले मुस्किलले वर्षमा २ लाख उठ्छ । कसरी कर्मचारीलाई भत्ता व्यवस्थापन गर्ने ? जिल्लाभरि नै सशुल्क फार्मेसी छैन । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधीबाट जिल्ला अस्पताल चलाउनु परेको छ ।’
पदयात्राको प्रवेशद्वार मानिने चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्यु दर घटाउन अस्पतालले सेवा दिइरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया