हेपाटाइटिसबिरुद्ध खोप र उपचार सम्भव छ

डा सुवास भट्टराई
आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । कलेजो फेल भएको जसलाई हामी मेडिकल टर्मिनोलोजीमा सिरोसिस अफ लिभर भन्छौं । यसको मुख्य कारण हाम्रो नेपाल जस्तो समाजमा चाहिँ रक्सी नै हो । लामो समयसम्म १० वर्ष वा बढी रक्सी प्रयोग गर्नेहरुलाई कलेजो रोग लाग्ने सम्भावना अधिक हुन्छ ।
कलेजो रोगका विभिन्न प्रकार र अवस्था छन् । नेपालमा सय जना कलेजोका बिरामी जाँच गर्ने हो भने ९० बढीको कारणचाहिँ रक्सी हुन्छ । कलेजो बिगार्ने मुख्य कारण नै रक्सी नियमित सेवन हो । तर अहिले विशेषगरी के भेटिएको छ भने सहरी क्षेत्रमा हेपाटाइटिस बि र हेपाटाइटिस सिका बिरामी पनि देखा पर्न थालेका छन् । नेपालमा ५ देखि ६ प्रतिशत बिरामी हेपाटाइटिस बि र सिबाट लिबर फेलर अथवा सिरोसिसमा बदलिएका छन् ।
यदि कसैलाई अहिले हेपाटाइटिस बि र सि देखिएको छ भने आउने २० वर्षमा उसको कलेजो सम्पूर्ण खराब हुन सक्छ । यसलाई सिरोसिस भनिन्छ । सिरोसिस भनेको कलेजो पूर्णरुपमा फेल भएको अवस्था हो हेपाटाइटिस बि र सि फरक फरक रोग हुन् ।
हेपाटाइटिस बि भएका बिरामी सबैजसोले अरुलाई रोग सार्न सक्छन् । तर ९० देखि ९५ प्रतिशतमा यो रोगका किटाणु उनीहरुमा रहे पनि यसले खास असर गर्दैन । हेपाटाइटिस बिका किटाणु ६ महिनाभन्दा बढी शरीरमा रह्यो भने यसलाई हामी क्रोनिक हेपाटाइटिस भन्छौं । यदि कसैलाई ६ महिनाभन्दा बढी हेपाटाइटिस बि का किटाणु देखियो भने उसको भविष्यमा कलेजो खराब हुने सम्भावना बढी हुन्छ ।
हेपाटाइटिस सि हेपाटाइटिस बिभन्दा खतरनाक हुन्छ । यदि तपाईलाई हेपाटाइटिस सि छ भने आउने २० वर्षमा तपाईलाई शतप्रतिशत नै सिरोसिस हुन्छ । हेपाटाइटिस बिमा भने सयमा ५ जनाको मात्रै कलेजो बिग्रिन्छ ।
गाउँघरमा हामीले जसरी एचआइभी सर्छ भन्ने सुनेका छौं, त्यसरी नै हेपाटाइटिस बि र सि सर्छन् । असुरक्षित यौन सम्पर्क, रगत र यी रोग लागेका मानिसले प्रयोग गरेका औजारहरु प्रयोग गर्दा, सुईहरु प्रयोग गर्दा हेपाटाइटिस बि र सि सर्छन् । यसो भन्दैमा सँगै सुत्दैमा, चुम्बन गर्दैमा, जुठो खाँदैमा, लुगा साटेर लाउँदैमा हेपाटाइटिस बि र सि सर्दैनन् । आमामा हेपाटाइटिस छ भने उनले बच्चालाई सार्न सक्छिन्, त्यो पनि जन्म दिने बेलामा । जन्म दिने बेलामा यदि बच्चालाई यससम्बन्धी इन्जेक्सन दिएको छ भने नसर्न पनि सक्छ ।
हाम्रो समाजमा हेपाटाइटिस बि र सिबारे खुलेर कुरा गरिँदैन । यसलाई हामीले असुरक्षित यौन सम्पर्कसँग जोडेका छौं । यी रोग लागेका व्यक्तिलाई नराम्रो ठानिने भएकाले पनि रोगीहरु बाहिर आउन खोज्दैनन् ।
अर्काेतिर यी रोग खतरनाक हुन्छन् भनेपछि हामी तर्किन खोज्छौं । यी रोगको प्रारम्भिक अवस्थामा केही लक्षण पनि नदेखिन सक्छन् । मात्र रगतमा खराबी देखिन्छ, छिप्पिदै गयो भने उसलाई जन्डिस देखा पर्न सक्छ । १५, २० वर्ष भएपछि बिरामीमा सिरोसिसका लक्षण देखिन थाल्छन् । यसको सुरुआती कमजोरी महसुस हुने, छिटै थकाइ लाग्ने, खान मन नलाग्ने, हातखुटा गलेर आउने हुन सक्छ । कतिपय अवस्थामा सिरोसिसको औषधीबाटै पूर्ण उपचार नहुन सक्छ । कलेजो प्रत्यारोपणको बाहेक अन्य कुनै विकल्प रहदैन ।
हेपाटाइटिस बि र सिको उपचार के त ? आज पनि हामी यी रोगको उपचार गर्नु पर्दैन, प्राकृतिक उपचार गरे पुग्छ भनी बिरामी अल्झिइरहेका हुन्छन् । लिफिफ्ट जस्ता औषधी खाएर बिरामी बसिरहेका छन् । पहिला यी रोगका उपचार र औषधी थिएनन् । अहिले हेपाटाइटिस बिको औषधी ट्याब्लेटमा उपलब्ध छ । हेपाटाइटिस बिको औषधी पहिला पनि पाइन्थ्यो तर अहिले औषधी सस्तो भएको छ । सय रुपैयाँमा एक ट्याब्लेट औषधी पाइन्छ । महिनामा ३ हजार खर्च हुन्छ । यो औषधी २ वर्ष वा केही लामो समय प्रयोग गनुपर्ने हुन्छ ।
हेपाटाइटिस सिको पहिला एकदमै कडा इन्जेक्सन चल्थ्यो । यो यति कडा थियो कि धेरै बिरामीले बीचमा गाह्रो भएर औषधी छाड्थे । यसबाट ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने यति समस्या थिए कि उपचार निकै गाह्रो थियो । उपचारका लागि नेपाली पनि विदेश जान्थे । तर अहिले हेपाटाइटिस सिको पनि औषधी ट्याब्लेटमा उपलब्ध छ । यो औषधी आएको २ वर्ष भयो । १ देखि डेढ लाख खर्च हुन्छ । कसैलाई १२ हप्ता, कसैलाई २४ हप्ता औषधी चलाउनुपर्छ । यति राम्रो औषधी छ कि यो अवधिमा हेपाटाइटिस सि पूर्णरुपमा निको हुन सक्छ । यो औषधि नेपालमा पनि उपलब्ध छ । पोखरामा परामर्श, परीक्षण, औषधी र उपचार सेवा उपलब्ध छ ।
कलेजोमा असर गर्नुभन्दा पहिले नै सम्भव भएसम्म उपचार गरौं । तपाईको कलेजो बिग्रिन थालिसकेको छ भने पनि उपचार गर्न मिल्छ । कलेजो बिग्रिदैमा मानिस मरी त हाल्दैन । मुखबाट रगत आउने, खुटा सुन्निने, पेट फुलेर आउने जस्ता समस्या नबढून भनी सचेत हुनुपर्छ । सिरोसिस भइसकेपछि मानिसलाई बेला बेलामा आइसियुमा भर्ना गर्नुपर्ने अवस्था पनि आउन सक्छ । आज तपाईलाई हेपाटाइटिस बि वा सि देखिएको छ भने उपचार गरौं, ता कि कलेजो नबिग्रियोस् । कलेजो पूर्ण रुपले बिग्रिइसक्यो भने पनि आयु बढाउन सक्ने उपाय छन् ।
उपचार यसरी गरौं कि अरुलाई यो रोग नसरोस् । हेपाटाइटिस बि र सि भएका मानिसले पनि सामान्य प्रकारकै जीवनयापन गर्न सक्नुहुन्छ । यौन सम्पर्क गर्न सक्नु हुन्छ । किटाणु रहेसम्म कन्डम प्रयोग गर्नुपर्छ । यो रोगबाट मुक्त भएपछि गर्भधारणसमेत सम्भव छ । गर्भधारणमा एउटा इन्जेकसन लगाउनुपर्छ । यतिसम्म उपचार सम्भव छ । तापनि मानिस खुलेर उपचार गर्न आउन चाहदैनन् । कतिपय व्यक्तिलाई हेपाटाइटिस भएको थाह त छ । यसले केही गरेको छैन, यसको उपचार हुन्न रे भनेर बुझ्नु भएको होला । तपाईहरु थाहै नपाइ भित्रभित्र कलेजो बिगार्दै हुनुहुन्छ । यो गलत हो । यसले कलेजो बिगार्छ, कलेजोको क्यान्सरसम्म गर्न सक्छ । तर यसको सही जाँच , परीक्षणपस्चात उपचार गरे यो रोगको सफल उपचार सम्भव छ ।
कलेजो बिग्रिएपछि मुखबाट रगत आउने, बेला बेलामा होस गुमाउने, पेट फुल्ने हुन्छ । जटिलता बढ्दै गएपछि आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन सक्छ । उपचार खर्च पनि धेरै हुन्छ । अहिले पनि हेपाटाइटिस बि र सिको उपचार हुँदैन मान्यता पाइन्छ । अहिले पोखरामै यी रोगको उपचार सम्भव छ । हामीले पोखराको पृथ्वीचोकमा ग्यास्टो केयर भन्ने संस्था खोलेका छौं । अहिले हाम्रोमा १०० जना जति हेपाटाइटिसका र ४० जना जति सिका बिरामी उपचाररत छन् । सबैको राम्रो उपचार भइरहेको छ । ३० जना जतिले हेपाटाइटिस सिको सफल उपचार गरेर गइसक्नु भएको छ ।
समाजमा यी रोगका बारेमा छलफल, कुराकानी हुन्न । परिवार, टोल, समाज कतै यी रोग लागेका मानिस छन् भने पठाउनुहोस्, उपचार सम्भव छ । भ्रममा नअल्झिनुस्, बेलैमा उपचार गर्नुहोस् । उपचारमा यी रोगबारे अरुलाई खबर, जानकारी नदिई उपचार गर्छाैं । यसमा आत्तिनु, तर्सिनुपर्ने कारण छैन । यी रोग किन लागेभन्दा पनि कसरी चाडै निको हुन सकिन्छ भन्नेतिर लागौं । यी रोग लागेका बिरामीले रक्सी र चुरोट बिल्कुलै खानु हुन्न । कलेजोलाई आराम दिन चिल्लो र प्रोटिन बढी हुने माछा, मासु आदि पनि कम खानुपर्छ । मौसम अनुसारका फलफूल र प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
हेपाटाइटिस बि र हेपाटाइटिस सिको संक्रमण ले कलेजो बिगार्छ । सिरोसिस पनि गर्न सक्छ । कलेजोको क्यान्सर पनि गर्न सक्दछ । धेरैजसो हेपाटाइटिसका बिरामीमा रोग का कुनै पनि लक्षण नदेखिन पनि सक्छ । झट्ट हेर्दा साधारण कुनै पनि व्यक्तिसरह देखिन सक्छन् । हेपाटाइटिसको संक्रमण भएको १०÷२० बर्ष पछि बल्ल कलेजोको रोग छिपिन्दै जान्छ र रोगको लक्षण देखिन थाल्छ । हाम्रो देशमा पनि हेपाटाइटिस को संक्रमण बद्ढो क्रममा छ ।
हेपाटाइटिस बि नलागोस्, अन्य व्यक्तिबाट नसरोस् भनेर यस्को खोप लगाउन सकिन्छ । खोपको मात्र पूरा लगाएमा हेपाटाइटिस बिको संक्रमण हुने सम्भावना धेरै नै घटेर जान्छ । हेपाटाइटिस छ वा छैन, रगत जाँच गर्न मिल्छ । छ भने उपचार, छैन भने खोप लगाउन सकिन्छ । परिवारमा कसैलाई हेपाटाइटिस लागेको छ भने परिवारका अन्य सदस्यलाई हेपाटाइटिस बि विरुद्ध खोप लगाएको खन् मा यो सर्न सक्दैन । खोप लगाएपछि ढुक्क हुन सकिन्छ । यसबारे जानकारी दिन आज विश्व हेपाटाइटिस दिवसमा ग्यास्ट्रो केयर पोखराले सचेतना र सित्तैमा हेपाटाइटिस जाँच गर्दै छ । विश्वभर हेपाटाइटिसबारे चेतना जगाउन यस खालका कार्यक्रम हुने गरेका छन् ।
यी रोग लागेर कतिपयको परिवार टुटेको, सम्बन्धविच्छेद पनि भएको छ । सचेत भए आफू पनि निरोगी र आफ्नो परिवारलाई पनि सुरक्षित बनाउन सकिन्छ । श्रीमान् वा श्रीमतीलाई छ भने एकअर्काको सहयोगको खाँचो छ । कतिपय विदेश जाने युवायुवती हेपाटाइटिस देखियो भनेर आउनुहुन्छ । उपचार सफल हुन्छ । उपचारपछि निरोगी रहन सकिन्छ । केही वर्ष भयो हेपटाइटिस थाहा भएको तर मलाई केहि भएको छैन भनेर नबसौ । यसको उपचार सम्भव छ । कलेजो खराब हुनुअघि नै यस्को सफल उपचार गरौं । हेपाटाइटिस बि र सिको नेपालमै, अझ पोखरामा सफल उपचार गरी सुखी जीवनयापन गर्न सम्भव छ ।
डा. भट्टराई पेट गेस्ट्रो र हेपाटोलोजी विशिष्ट विषेशज्ञ हुन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया