मुस्ताङकाे जंगलमा भेटियो कस्तुरी समात्ने पासो

समाधान संवाददाता २०७६ साउन १३ गते ११:५७

एसके थकाली, मुस्ताङ

मुस्ताङमा वन गस्ती गर्दा १८ थान पासो भेटिएको छ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना
(एक्याप) ,संरक्षण व्यवस्थापन समिति र प्रहरीको संयुक्त साझेदारीमा बिहिबार घरपझोङ –५ टिकीलुम्चे जंगलमा गरिएको वन गस्तीमा उक्त पासो भेटिएको हो ।

मुस्ताङ जिल्ला अन्नपूर्ण संरक्षितक्षेत्र अन्तर्गत पर्दछ । एक्यापको अगुवाईमा वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउपालिकाको विभिन्न लेंक तथा जंगलमा गस्ती गर्दा टिकीलुम्चेमा पाँसो भेटिएको क्याप मुस्ताङकी रेञ्जन धनु गुरुङले जानकारी दिईन् । वन्यजन्तु कस्तुरीलाई लक्ष्यगरी उक्त पासो राखिएको उनले उल्लेख गरिन् । मुस्ताङ लगायत हिमाली तथा उच्चपहाडी जिल्लाका लेंक तथा जंगलमा यार्सा गुम्बा पाईन्छन् ।

Advertisement

वर्सेनि वैशाखदेखि असारसम्म यार्सा टिप्ने सिजन मानिन्छ । टिकीलुम्चे जंगलमा भेटिएको पाँसो पनि यार्सा टिप्नेहरुले थापेको हुनसक्ने एक्यापको अनुमान छ ।

मोटरसाईकल तथा बेन्डिङ वायरको करिव १ मिटर ६० से.मी. लामो पाँसोहरु कस्तुरी आउजाउ गर्ने स्थानको पहिचान गरी थापिएको एक्यापले जनाएको छ । भेटिएको पासो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ,अन्नपूर्ण संरक्षणक्षेत्र संम्पर्क कार्यालयमा बुझाईने गुरुङले जनाईन् ।

Advertisement

नियमित वन तथा लेंकको अनुगमन नहुदा यार्सा टिप्नेबाटै संरक्षित क्षेत्रका वन्यजन्तु असुरक्षित बन्दै गईरहेको छ । मुस्ताङमा हिमचितुवा, कस्तुरी मृग, हिमाली भालु र चरी बाग गरी ४ प्रकार संरक्षित वन्यजन्तु पाईने गर्छ । यसका अलावा अर्ध संरक्षित वन्यजन्तुमा नाउर, घोरल, झारल, रतुवा र चितुवा छन् । चराचुरुङीतर्फ ६ प्रकारका डाफे, मुनाल र चिर पाईने एक्यापकी रेञ्जर गुरुङले उल्लेख गरिन् ।

संरक्षित वन्यजन्तुको चोरी शिकारी गरेको पाईएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार १५ वर्ष जेल र १० लाख जरिवाना अथवा जरिवाना वा कैद सजाय हुनसक्छ ।

तपाईको प्रतिक्रिया