
जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका ३, ४ र ५ नम्बर वडा जोड्ने कालिगण्डकी नदीमा बन्नुपर्ने मोटरेबल पुल अलपत्र छ । ७ वर्ष बितिसक्दासमेत निर्माण नसकिएको यो पुलको २०७४ साल फागुनमा साबिक जिल्ला विकासमार्फत ठेक्का सम्झौता भएको थियो ।
पुलको डिपिआरमा प्राविधिक त्रुटि र कमीकमजोरी रहेको भन्दै निर्माण कम्पनीले लेते—कुञ्जा जोड्ने मोटरे बल पुल बनाउन तदारुकता नदेखाएको हो । सुरुवाती ठेक्का अवधि १८ महिना रहेको यो पुल त्यस बेला साबिक जिल्ला विकास समिति मुस्ताङले ११ करोड ३० लाख लागतमा स्वच्छन्द निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो ।
मुग्लिनको पुरानो पुलको ढाँचामा निर्माण गरिन लागेको यो पुल सम्झौता मुताविक २०७५ भदौमा सकिनुपर्ने थियो । तर, सम्झौता अवधि सकिएर पटक पटक म्याद थप हुँदासमेत पुल बन्ने छेकछन्द देखिँदैन । यो पुलको काम ७ वर्षमा जम्मा ३५ प्रतिशतमात्र भएको छ । निर्माण कम्पनीले ३ करोड १२ लाख भुक्तानी लगिसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
संघीय आयोजना अन्तर्गत तत्कालीन समयमा साबिक जिल्ला विकास समितिले १ सय मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडा हुने गरी पुल निर्माण प्रक्रियाअघि बढाएको थियो । कालिगण्डकी पञ्चिमतर्फका गाउँलाई जोड्ने र त्यहाँका स्थानीय र कृषि उत्पादनको सहज बजारीकणमा योगदान पुर्याउने उद्देश्यले त्यहाँ कालिगण्डकी नदीमाथि पुल निर्माणको अवधारणा ल्याइएको थियो ।
निर्माण कम्पनीले ठेक्का सम्झौता भई पुल निर्माणको काम अघि बढाउँदै गर्दा २०७५ सालको कालिगण्डकी नदी कटानले पुलको बिमको भागमा आशिंक क्षति बनायो । पुल कालिगण्डकी नदीको कटानले धरापमा पर्ने देखिएपछि कालिगण्डकी कटान रोक्न प्रोटेक्सन वाल लगाउनुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि रोकिएको लेते—छयो सस्पेन्सन पुलको अख्तियारी संघीय सरकारले २०७७ साल भदौ महिनामा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्यो ।
निर्माण कम्पनीले सवा ३ करोड भुक्तानी लगिसकेको छ भने भिओबारे निर्णय नहुँदा लेते–कुञ्जा पुल अलपत्र छ
अहिले निर्माणाधीन पुल हेर्ने जिम्मा प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दिएको छ । सडक सञ्जाल नपुग्दा आझेलमा परेका कालिगण्डकी पश्चिमतर्फका गाउँहरु छयो, कुञ्जो, ताक्लुङ, टिटी र झिप्रा देउरालीका स्थानीयको सहजताका लागि अघि बढेको यो पुल १०/१५ प्रतिशत भौतिक प्रगति हुँदा अलपत्र पर्यो । पुलको प्राविधिक अध्ययन गर्न स्वीजरल्यान्डका प्राविधिक विज्ञ बेनाम ढलिलीसहितको टोली मुस्ताङ आएर आएर फर्किएको थियो ।
टोलीले पुलको थप दायाँबायाँ २० मिटर लम्बाई वृद्धि गर्न सुझाव दिएको थियो । पुलको प्राविधिक डिजाइनमा कमजोरी रहेको औल्याउँदै निर्माण कम्पनीले दीर्घकालीन रुपमा पुलको संरचना जोगाउनुपर्ने भन्दै कालिगण्डकी नदीमा रिभर प्रोटेक्सन तथा एङकरेज ब्लकका लागि भन्दै ३ करोड भिओको प्रस्ताव पेश गरेको थियो ।
निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवालाई सन् २००१ को मार्चमा एलआरपीले पुलको रिसिभ डिजाइन र रिसिभ स्टक्चरका आधारमा पुलको भेरियसन (भिओ)पेश गर्न सुझाव दिएको थियो । कम्पनीले पूर्वाधार विकास कार्यालयमा भिओ स्वीकृत गरी पाऊँ भनी कागजात पेश गरेपछि गण्डकी प्रदेश सरकारले २०७८ सालमा कुल लागतको २४ दशमलव ८१ प्रतिशत भिओ वृद्धि गरेको थियो । जसमा १५ प्रतिशत संघीय भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले र ८९ दशमलव ८१ प्रतिशत प्रदेश क्याबिनेटले व्यवहोर्ने उल्लेख थियो ।
संघीय तथा प्रादेश सरकारको लागत साझेदारीमा पुलको भिओ वृद्धि भएपछि निर्माण कम्पनी २०७९ मा पुल बनाउन फिल्डमा परिचालन भएको थियो । भिओ वृद्धिपछि पुलको लागत बढेर १४ करोड १९ लाख पुगेको थियो ।
त्यसपछि पुलको दायाँ बायाँ एङ्करेज ब्लक र कालिगण्डकी नदीमा रिभर प्रोटेक्सनको काम अघि बढायो । लामो समयसम्म अन्योलमा रहेको पुल बनाउन निर्माण कम्पनी लागेपछि स्थानीयमा आशा पलाएको थियो । कम्पनीले निर्माण स्थलमा झन्डै २ करोडभन्दा बढी लागतका स्टिलका सामानसमेत झार्यो ।
कम्पनीले निकै दतारुकताका काम गरिरहेकै अवस्थामा गत वर्षको कालिगण्डकी नदीको बाढीले फेरि रिभर प्रोटेक्सनमा क्षति बनायो । कटानले पञ्चिमतर्फको एङ्करेज ब्लकसमेत धरापमा पर्ने देखियो । त्यसपछि पुलको कामअघि बढ्न सकेको छैन । निर्माण कम्पनीले फेरि पुलको भिओ माग गरिरहेको छ ।
लेते—कुञ्जो सस्पेन्सन पुलको पछिल्लो पटक २०७९ चैत २८ गते म्याद थप भएको थियो । सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि योजनाको २५ प्रतिशतभन्दा माथि भिओ स्वीकृत गर्न नपाउने प्रावधान रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजय श्रेष्ठ बताउँछन् । उनले २५ प्रतिशतभन्दा माथिको भिओ स्वीकृत मन्त्रिपरिषदले मात्र गर्न सक्ने खुलाए ।
‘पुलको भिओ थप्न माग छ तर भिओ २५ प्रतिशतभन्दा माथि जान मिल्दैन,’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘हामीले सरकारको कानुन र नियम पालन गर्ने हो । आफैंले चाहेर पनि भिओ वृद्धि गर्न सक्तैनौं ।’
पुल निर्माण अलपत्र परिरहेका बेला तत्कालीन गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली अनुगमनमा जाँदा स्थानीयले चर्को रोश प्रकट गरे । पूर्वबाणिज्य मन्त्री रोमी गौचन थकाली, संघीय सांसद योगेश गौचन थकालीसहितको उपस्थितिमा पूर्वाधार विकास कार्यालय, निर्माण कम्पनी र स्थानीयको निर्माणस्थलमा छलफल भयो ।
स्थानीयको चर्को आलोचना खेप्न बाध्य निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछानेले कम्पनीलाई परेको अप्ठ्यारो भिओको बिषयमा कार्यालयले सहजीकरण गर्ने र निर्माण कम्पनी १ हप्ताभित्र पुलको काममा फर्किने मौखिक सहमति छलफलमा भयो । तर, लामिछानेले गरेको प्रतिवद्धता कार्यान्वयन भएन । निर्माणस्थलमा सामानहरु समेत अलपत्र छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया