शुक्लागण्डकीमा अपांगता परिचय पत्र

समाधान संवाददाता २०७६ साउन १४ गते १२:४९

समाधान संवाददाता
दुलेगौंडा

शुक्लागण्डकी नगरपालिकामा आइतबारबाट अपांगता परिचय पत्र वितरण सुरु भएको छ । वडा नं. १२ को कार्यालय, लामागाउँमा आयोजित १ कार्यक्रममा मेयर किसान गुरुङले परिचय पत्र प्रदान गर्दै शुभारम्भ गरेका हुन् । वडामा ३३ जनाले परिचयपत्र पाएका छन् ।

कार्यक्रममा मेयर गुरुङले नगरबाट प्रदान गरिएको परिचय पत्रले अपांगता भएका व्यक्तिलाई आत्मबल थपिएको बताए । उनले पहँेलो र सामान्य परिचयपत्र पाएकालाई पनि नगरबाट केहि सहयोग गर्नुपर्नेमा जोड दिए । शुक्लागण्डकी नगरपालिका अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम गठित स्थानीय समन्वय समितिको निर्णय अनुसार नगरमा बसोबास गर्ने अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरु गरिएको समन्वय सदस्य दामोदर रेग्मीले बताए ।

Advertisement

परिचय पत्र वितरणका लागि गत जेठ ८ र ९ गते निवेदन लिइनुका साथै शारीरिक अवस्था जाँच गरिएको थियो । अपांगता भएका व्यक्तिको परिचय पत्र कार्यविधि २०७५ अनुसार यसअघि परिचयपत्र लिइसकेका व्यक्तिले पनि आगामी १ वर्षभित्र कार्यविधि अनुसार परिचयपत्र लिनुपर्ने उल्लेख छ । यस अघि महिला तथा बालबालिका कार्यालयले परिचय पत्र प्रदान गर्दै आएको थियो ।

सरकारले अपांगता भएका व्यक्तिलाई क, ख, ग र घ गरी ४ समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपांगता भएका व्यक्तिले रातो, अति अशक्त अपांगता भएका व्यक्तिले नीलो, मध्यम अपांगता भएका व्यक्तिले पहेँलो र सामान्य अपांगता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गर्ने छन् । नगरका ३ सय ४१ जना व्यक्तिले तोकिएको वर्गको अपांगता परिचयपत्र प्राप्त गर्नेछन् । ४ सय ६० निवेदन परेकोमा शुक्लागण्डकी नगरपालिका अपांगता समन्वय समितिले कार्यविधिको आधारमा परिचय पत्र प्रदान गर्न लागेको हो । सबै भन्दा बढी वडा नं. ११ मा ४३ र कम वडा नं.४ मा १२ जनाले परिचयपत्र पाउने छन् ।

Advertisement

प्रक्रिया पुगेर आएका निवेदन, शारीरिक अवस्था, चिकित्सकले दिएको सिफारिस र परिचयपत्र वितरण कार्यविधिको आधारमा परिचयपत्र वितरण गरिएको समन्वय समितिकी संयोजकसमेत रहेकी उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् । ‘सरकारले अपांगताको वर्गीकरण गरेको छ,’ उपमेयर रसाइलीले भनिन् ‘हामीले त्यही कार्यविधिले व्याख्या गरेका आधारमा परिचयपत्र वितरण सुरु गरेका हौं ।’

सोमबार ३ नं. वडा कार्यालय, वनकेवामा वितरण गरिने नगरले जनाएको छ । यसैगरी १४ गते ११ नं. वडा कार्यालय राइपुर र जरेवरमा वितरण गरिने छ । २१ गते ८ नं. वडा कार्यालय ढोरफिर्दी, २२ गते ९ नं. वडा कार्यालय घारी र फिर्दी, २३ गते ६ नं. वडा कार्यालय खैरेनीटार, २४ गते ७ नं. वडा कार्यालय खैरेनीटार र २५ गते १० नं. वडा कार्यालय छब्दी र खोरादीमा वितरण गरिने छ ।

यसैगरी २६ गते ५ नं. वडा कार्यालय बेलचौतारा, २७ गते २ नं. वडा कार्यालय कोत्रे र २८ गते ४ नं. वडा कार्यालय दुलेगौंडामा वितरण गरिने सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया