राष्ट्रिय एकल लोकनृत्यमा वन्दना र शेखर प्रथम

समाधान संवाददाता २०७६ साउन १४ गते १४:३३

समाधान संवाददाता
पोखरा

लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा पोखरामा राष्ट्रिय एकल लोकनृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा महिलातर्फ गण्डकीका वन्दना घर्तीमगर र पुरुषतर्फ कर्णालीका शेखर घर्तीमगर प्रथम भएका छन् ।

कल्याण शेरचन स्मृति प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)द्वारा आयोजित प्रतियोगितामा प्रथम हुँदै घर्तीमगरद्वयले जनही १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्परसहित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा १ वर्षका लागि रोजगारीको अवसर प्राप्त गरेका छन् ।

Advertisement

प्रतियोगितामा महिलातर्फ प्रदेश नं.५ की अंशु कुँवर र पुरुषतर्फ प्रदेश नं. १ का प्रीतम सम्बाहाम्फे दोस्रो भए । उनीहरुले जनही ५० हजार ५ सय १५ रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्पर हात पारे । महिलातर्फ प्रदेश नं. ३ की रबिता मगर र पुरुषतर्फ प्रदेश नं.५ का दिलबहादुर सुनार तेस्रो भए । उनीहरुले जनही २५ हजार ५ सय १५ रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगितामा महिलातर्फ कर्णाली प्रदेशकी विपना मन्दिर मगर र पुरुषतर्फ गण्डकीका हिराबहादुर गुरुङले सान्त्वना स्थान हासिल गर्दै १५ हजार ५ सय १५ रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्परसहित पुरस्कृत भए । प्रतियोगितामा प्रदेशबाट छनोट भई गण्डकीबाट ४ जना र अन्य प्रदेशबाट २÷२ जना गरी १६ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रतियोगीको रोजाई र निर्णायक राउन्ड गरी प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा महिलातर्फ प्रथम भएकी बन्दना घर्तीमगरका नृत्य निर्देशक सनबहादुर गुरुङ र पुरुषतर्फ प्रथम भएका शेखर घर्तीमगरका निर्देशक अनन्तराज तिमिल्सेना उत्कृष्ट नृत्य निर्देशक घोषित हुँदै जनही २५ हजार ५ सय १५ रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्परसहित सम्मानित भए ।

Advertisement

विजेतालाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, वरिष्ठ संस्कृतिकर्मी चेतन कार्की, कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ, प्रमुख संरक्षक शर्मिला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा मुख्य निर्णायकमा वरिष्ठ नृत्य निर्देशकद्वय मेनकाजी गुरुङ र रोचक थापा थिए । अन्य निर्णायकहरु मनकुमार श्रेष्ठ (गण्डकी प्रदेश), नगेन्द्र राई (प्रदेश नं.१), सन्दीप मण्डल (प्रदेश नं.२), शारदा सिलवाल (प्रदेशनं.३), अनुरजक (प्रदेश नं.५), कुलमान नेपाली (कर्णाली प्रदेश) र सुनील सुवेदी (सुदुर पश्चिम प्रदेश) थिए ।

यसैबीच लोकनृत्यमा विशेष योगदान पुर्‍याएका विराटनगर कटारी २ का वरिष्ठ लोक नृत्यकार प्रेमलाल परियार (सुनाम) लाई सम्मान गरिएको थियो । ५ दशकदेखि लोकनृत्यमा विशेष योगदान पुर्‍याउँदै आएका सुनामलाई २५ हजार १ रुपैयाँसहित ताम्रपत्र, दोसल्लासहित सम्मान गरिएको हो ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षता र सचिव जीवन दाहालको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी चेतन कार्की, कार्यक्रम संयोजक श्रीजंग गुरुङ निर्णायक समिति सदस्य मनकुमार श्रेष्ठ सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा लगायतले बोलेका थिए । कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकारले नृत्य र गायक डबिन गुरुङ, लक्ष्मी नेपालीले गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया