व्यासका २६३ घरधुरी लालपुर्जाविहीन

समाधान संवाददाता २०७६ साउन १५ गते ११:३९

समाधान संवाददाता
दमौली

तनहुँको व्यास नगरपालिका ३ देउरालीनगरका २ सय ६३ घरधुरी लालपुर्जाविहीन छन् । वर्षौदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आए पनि लालपुर्जा भने बनेको छैन ।

२०४० सालदेखि अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाई नहुँदा लालपुर्जाविहीन रहनुपरेको देउरालीनगर अव्यवस्थित बसोबास व्यवस्थापन संघर्ष समिति संयोजक नेत्र रानाभाटले बताए । अव्यवस्थित जग्गाको समस्या समाधान नहुँदा सदरमुकाम दमौली नजिकैको यस क्षेत्रका वासिन्दा सुकुम्बासीको रुपमा रहनुपरेको रानाभाटले गुनासो गरे ।

Advertisement

‘वर्षौदेखि यहाँका स्थानीयवासी लालपुर्जाविहीन अवस्थामा सुकुम्बासीको रुपमा रहँदै आएका छन्,’ रानाभाटले भने, ‘सुकुम्बासी बस्तीको रुपमा परिभाषित हुँदा विकासका पूर्वाधार आउन सकेको छैन ।’ अव्यवस्थित बसोबास समस्या समाधानका लागि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि आफूहरुको माग सुनुवाई हुन नसकेको उनले बताए ।

चुनावको बेला विभिन्न राजनीतिक पार्टीका उम्मेदवारले यहाँको समस्या समाधान गर्छु भनेर मत मागे पनि विजयी भएपछि यस ठाउँलाई प्राथमिकतामा नराखेको स्थानीयवासी नन्दबहादुर थापाले बताए । ‘भोट माग्न आउँदा जग्गाको लालपुर्जा दिलाउँछु भनेर भोट माग्छन्, तर चुनाव जितेर गएपछि आफूहरुको समस्या ज्यँु का त्युँ हुन्छन्,’ थापाले भने । लामो समयदेखि जग्गाधनी प्रमाणपूर्जाविहीन भएर बस्नुपर्दा आफूहरुलाई समस्या भइरहेको स्थानीयवासी श्रीकुमार श्रेष्ठले गुनासो गरे ।

Advertisement

जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेले अव्यवस्थित रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीलाई लालपुर्जा उपलब्ध गराउन पहल सुरु भइसकेको जानकारी दिए ।

वाग्लेका अनुसार समन्वय समिति नाममा रहेको ३६ रोपनी क्षेत्रफलमा बसोबास गर्ने १ सय ८३ घरधुरीलाई सामान्य दररेट निर्धारण गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तथा पर्ती र ऐलानी जग्गामा बसोबास गर्ने ८० घरधुरीलाई भूमिसम्बन्धी ऐनको आधारमा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन जिल्ला सभाले निर्णय गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया