‘मीरा स्याडो अफ अ रेन्बो’ को विशेष सो

पोखरा ।
पोखरामा ‘मीरा स्याडो अफ अ रेन्बो’ को विशेष सो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युएफएक्स सिनेमा हलमा उक्त सो भएको हो । विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो । मेडिकल लाइनदेखि सामाजिक सेवामा आबद्ध भएका व्यक्तिहरुले उक्त सिनेमा हेरे ।
अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुुलाई धेरैले रुचाएका छन् । समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ । अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमा मार्फत प्रस्तुत गर्न खोजिएको छ ।
विशेष सोमा पोखराका दर्शकको माया पाएर निर्मात्री एवं निर्देशक अनिता पण्डित पनि खुसी छिन् । भन्छिन्, ‘सोचेभन्दा बढी सफलता मिल्यो । झरीको बेला पनि आफ्नै सिनेमा भनेर दर्शक आउनुभयो । पोखराको राम्रो सर्पोट पाएँ ।’
आफू इरानी सिनेमाबाट प्रभावित भएको बताउँदै उनले समाजका समस्यालाई सिनेमा मार्फत उतार्न लागिरहने प्रतिबद्धता व्यक्त गरिन् । ‘आफैले निर्माण गरेको पहिलो सिनेमामा केही कमीकमजोरी अवश्य होलान् । जसलाई आगामी दिनमा अझ सुधार गर्नेछु । तर सिनेमा मेकिङबाट टाढा चाहिँ रहनेछैन । यसमा नै निरन्तरता हुनेछ,’ उनले भनिन् ।
अनिता पण्डित र अशोक भुजेलको निर्देशन रहेको सिनेमाको कथा अनिताले नै लेखेकी हुन् । सिनेमामा अनिता सँगै सुरबिना कार्की, अरनाबी ढुंगाना, मौसम खड्का लगायतको अभिनय छ ।
तपाईको प्रतिक्रिया