एनसेलबाट पैसा नहुँदा पनि फेसबुक चल्ने

काठमाडौं ।
एनसेलका ग्राहकले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन् ।
एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रमा पनि थुप्रै उपभोक्ता क्रयशक्तिका कारणले गर्दा कहिलेकाँही मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडल पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरी फेसबुक बेसिक मोड र डिस्कभर सुरु गरेको छ । टुजी मोबाइल सेट बोक्ने ग्राहकका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो उपयोगी हुनेछ ।
डिस्कभरले टेक्स्टमात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागु हुनेछ ।
यसले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान गर्ने अपेक्षा गरिएको छ । यस किसिमका सहकार्यले डिजिटल र समावेशी नेपालको लक्ष्य हासिल गर्न सघाउने एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले जनाए ।
डिस्कभर एन्ड्रोइड एप हो । एनसेलका ग्राहकले यो एप प्रयोग गरी एनसेलमार्फत टेक्स्टमात्र पहुँच हुने गरी इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ । टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो र अन्य प्रकारका धेरै डेटा खपत हुने सामग्री उपलब्ध हुँदैन ।
स्वास्थ्य एवं सुरक्षासम्बन्धी विश्वासिलो जानकारीमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनका वेबसाइटहरु बुकमार्क गरिएको छ ।
फेसबुक बेसिक मोडमा एनसेलका ग्राहकले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नका लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोसहितको फेसबुक चलाउन सक्छन् । यसको मतलब ग्राहकले आफ्नो स्टाटस्, पोस्टहरु राख्ने, फोटोहरु हेर्ने र राख्ने जस्ता काम गर्न सक्छन् । ग्राहकले डेटा खरिद गरेपछि उनीहरु स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।
तपाईको प्रतिक्रिया