स्याङ्जा प्रशासन नयाँ भवनमा

समाधान संवाददाता
स्याङ्जा
५० वर्ष पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नयाँ भवनबाट सेवा दिन थालेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीको प्राविधिक सहयोगमा प्रशासन कार्यालय भवन निर्माण गरिएको हो । यसअघि २०२७ सालमा बनेको पुरानो भवनमा सेवा प्रदान गरिन्थ्यो ।
२०७४ वैशाखबाट जोशी फुलजोर जेभी बिजुली बजार काठमाडौंले भवन निर्माण थालेको थियो । भ्याट तथा कन्टिजेन्सीबाहेक ४ करोड ४५ लाख २१ हजार ९ सय ७९ रुपैया ९९ पैसामा भवन बनाएको फुलजोरका निर्माण व्यवसायी एनपी खनालले बताए । ३ तला भएको नयाँ भवनमा १ हलसहित २४ कोठा छन् । पहिलो तला अपांगमैत्री बनाइएको छ । पहिलो तलामा शारीरिक अपांगता भएका व्यक्ति ह्विलचियरमा सेवा लिन सक्ने गरी बनाइएको जिल्लाको पहिलो कार्यालय हो ।
३ सय ७२ दशमलव ५६ वर्गमिटरमा भवनसँगै ग्यारेज, क्यान्टिन र शौचालय निर्माण गरिएको छ । भवन निर्माण सम्झौता गरी २ महिना ढिला काम थालेको फुलजोरले सम्झौताको काम सक्ने समयभन्दा २ महिना ढिला निर्माण सम्पन्न गरेको हो । गत मंसिरमा काम सक्ने लक्ष्य लिए पनि भवन बनाउने सामग्री तथा रकम अभावले थोरै ढिलाइ भए पनि अन्य भवनको तुलनामा काम छिटो सकिएको खनालले बताए ।
पुरानो भवन जीर्ण भए पछि पानी चुहिँदा कामकाज गर्न र तथ्यांक सुरक्षित गर्न समस्या भएको थियो । स्याङ्जा प्रशासनमा ५ लाख नागरिकता र १ लाख पासपोर्टको तथ्यांक छ । प्रजिअ कोशहरि निरौलाले हेल्प डेस्क र छुट्टा छुट्टै विभाग रहने गरी मिलाउने काम गरिएको जानकारी दिए । प्रजिअ निरौलाका अनुसार पहिलो तलामा हेल्प डेस्क, दर्ता÷चलानी, प्रशासन कक्ष, राहदानी कक्ष, नागरिकता फाँट, प्रशासन, राष्ट्रिय परिचयपत्र कक्ष तथा प्रमुख प्रसासकीय अधिकृत कक्ष राखिएको छ ।
दोस्रो तलामा प्रजिअ कक्ष, सहायक प्रजिअ कक्ष, इजलास, आर्थिक प्रशासन कक्ष र राष्ट्रिय अनुसन्धान कार्यालय राखिएको छ भने तेस्रो तलामा सभाहल छ ।
नागरिकता फाँट र पुराना नागरिकता र राहदानीको तथ्यांकबाहेक सबै नयाँ भवनमा सारिएको बताउँदै प्रजिअ निरौलाले बाँकी रहेका सबै फाँट साउनभित्र सारिसक्ने जानकारी दिए । तत्कालीन प्रजिअ हरिप्रसाद पन्थीको पहलमा भवन निर्माण थालिएको थियो ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया