रोकियो गोरु निर्यातको गाडी

सुरेशराज अधिकारी
पोखरा
स्थानः पोखरा २३ पामेभन्दा केहीमाथि
बारः बुधबार
समयः राति ११ बजे
ना५ख १४०४ गाडी आउँछ । ३ दिनअघि नै पामेमाथि पुगेको उक्त गाडी लेकसाइडको खहरे आइपुगेपछि केही व्यक्तिले रोक्छन् । गाडीमा २२ वटा गोरु भेटिन्छन् ।
गोरु चल्ने नसक्ने गरी बाँधिएका हुन्छन् । जिउमात्रै होइन टाउको पनि चलाउन नमिल्ने गरी बाँधिएका गोरु नेपालबाहिर लैजान लागिएको सुइँको पाएकाहरुले रोक्छन् । गाडीलाई पामे चौकीका सईको पहरा देखिन्छ । गाडीलाई बैदाम चौकी पुर्याउन लागेको उनी बताउँछन् । तर गाडी रोक्नेहरुले पत्याएनन् । चौकी लगेपछि ड्राइभर थुनिन्छन् ।
पोखरामा बुधबार त्यसरी गोरु निर्यातको प्रयास रोकिन्छ । तर यसअघि पटकपटक गोरु निर्यात भइरहेको स्थानीय बताउँछन् । पशु ढुवानी मापदण्ड २०६४ ले पशुलाई सजिलोसँग ढुवानी गर्नुपर्ने व्यवस्था गरेको छ । पोखरा २३ बाट झापा लैजाने भनिएका गोरुको हालत भने अत्यन्तै कठिन थियो । क्रुर ढंगले गोरु गाडीमा खाँदिएका थिए ।
नारी परोपकार केन्द्र कास्की, मानव मिलन जागरण नेपाल, जाल्पादेवी महिला समूह पोखरा, विश्व हिन्दु महासंघ नेपाल लगायत संस्थाका प्रतिनिधिले एकमुस्ठ रुपमा वडा प्रहरी कार्यालय बैदाममा उक्त घटनाको विषयमा निवेदन दिएका थिए । तर वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले निवेदन दर्ता नगराएको उनीहरुको गुनासो छ । एकमुस्ठ रुपमा निवेदन दिँदा प्रहरीले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीमा पठाएका हुन् ।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीका गुनासो सुन्ने अधिकारी ठगेन्द्रप्रसाद अर्यालले उक्त विषयमा अनुसन्धान भइरहेको बताए । उनले कागज प्रक्रिया पुगेका कारण यस विषयमा अहिले कारबाही अगाडि बढाउन नमिल्ने बताए ।
खास के हो त घटना
स्थानीयले बिहीबार गाडी चालकलाई सोधपुछ गर्दा ती गोरु बिक्रीका लागि लैजाने बताएका थिए । उनले झापाको एक बजारमा पशुमेला लाग्ने र उक्त मेलामा बिक्रीका लागि गोरु लैजान लागिएको बताए । वडा प्रहरी कार्यालय बैदाममा बुझाएको कागजमा कृषि प्रयोजनका लागि किनबेच गरिएको उल्लेख छ ।
गाडीमा भएका मान्छे र कागजमा भएको कुरामा फरक भएपछि घटना शंकास्पद भएको विश्व हिन्दु महासंघ पोखरा महानगरपालिकाका अध्यक्ष अशिलकुमार शाही बताउँछन् ।
‘नेपालबाट गोरु निर्यात गर्न पाइन्न तर भारत वा बंगलादेश लैजान खोजिएको शंका लाग्यो,’ शाहीले भने, ‘नत्र रातिमा किन गोरु ढुवानी गर्नुपर्ने त ।’ प्रहरीकै मिलेमतोमा गोरु तस्करी हुने गरेको स्थानीय बताउँछन् ।
नेपाल ठकुरी संगम परिवार कास्कीका उपाध्यक्ष शेयरबहादुर उचइले घटना शंकास्पद भएको बताए । गोरु ढुवानीका लागि स्थानीय सरकारले अनुमति दिए पनि के कारण लैजान खोजिएको हो भन्ने स्थानीय सरकारले चासो दिनुपर्ने उनको भनाइ छ ।
एक स्थानीयको अनुसार उक्त ठाउँबाट करीब ४ वर्षअघिबाट यसरी गोरु बिक्री भइरहेको छ । करिब २ महिनाको अन्तरमा यसरी वितरणको काम भइरहेको हुँदा घटनामा शंकास्पद रहेको स्थानीय बताउँछन् ।









सामाजिक विकास तथा कृषि समितिको बैठक आज
सर्भर स्लो, राजस्व लक्ष्य टाढा
जीवनस्तर र राजनीतिको अन्तरसम्बन्ध
सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया