नमागेरै सांसदको टिकट पाइन्, हुन्न भन्दाभन्दै मन्त्री बनिन्

पोखरा ।
जिन्दगीको बाटो आफ्नै इच्छा र चाहनाले मात्रै कहाँ कोरिन्छ र ? परिबन्दले मानिसलाई कुन बाटो हिँडाउँछ, हिँडाउँछ । सोझो बाटो हिँडिरहेको जिन्दगीमा त्यस्तो कुनै परिबन्द नआएको भए विद्या भट्टराई अहिले पनि त्रिभुवन विश्वविद्यालयमा पढाइरहेकी हुन सक्थिन् । वा पेन्सन पाकिसकेको प्राध्यापन पेसाबाट अवकास लिएर घर गृहस्थमा रमाएकी पनि हुन सक्थिन् ।
तर २०७५ साल फागुन १५ गते एउटा घटनाले उनको जिन्गदीको बाटो मोड्यो । जीवनसाथी रवीन्द्र अधिकारीलाई त्यस दिन ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाले विद्याबाट सधैंका लागि चुँडेर लग्यो । अनि उनलाई परिवन्द प¥यो—रवीन्द्रको राजनीतिक विरासत थाम्ने ।
रवीन्द्रको निधनपछि रिक्त प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ मा एमालेले विद्यालाई उम्मेदवार बनाउन चाह्यो । विद्या खासमा त्यति इच्छुक थिइनन् । तर, अनेरास्ववियुको राजनीति गरेको आफ्नै विरासत र अनुभव पनि थियो । श्रीमान्लाई श्रद्धाञ्जली अर्पण गर्ने एउटा कार्य उनकै विरासत थामिदिनु पनि हुनसक्थ्यो भन्ठानेर पार्टीको आग्रह स्वीकारेर उपनिर्वाचनमा उम्मेदवार बन्न राजी भइन् ।
विद्या जति शालीन छिन्, जति भद्र र मृदृभाषी छिन् उस्तै प्रकृतिका उम्मेदवार नेपाली कांग्रेसले उठायो खेमराज पौडेल । पुराना र पाका पौडेल विद्याको जीवन र राजनीतिक जीवन दुवैका लागि पिता सरह थिए । त्यो चुनावमा दुवैले एकअर्कामा त्यस्तो सम्मान र मायाको भाव दर्शाए पनि । स्वच्छ प्रतिस्पर्धा भयो । चुनाव विद्याले जितिन् ।
परिबन्द र परिस्थितिबश राजनीतिमा पुनरागमन गरेकी विद्याले पहिलोपटक प्रतिनिधि सभा टेक्दा आलोचकहरुले उनलाई रवीन्द्रकी ‘श्रीमती’ देखे । तर संसदमा उनी जसरी प्रस्तुत भइन् । त्यसबाट कुशल र असल नेतृ हुन् भन्ने सिद्ध गर्दै थिइन् । ओजिलो सांसदको छवि र बौद्धिक राजनीतिक चेतकै कारण उनी फेरि २०७९ आमनिर्वाचनमा पार्टीको छनोटमा परिन् र दोस्रोपटक पनि उम्मेदवार बन्न पाइन् । खेमराज पौडेलसँग ८ हजारभन्दा बढी मतान्तरले पहिलोचोटि चुनाव जितेकी थिइन् ।
दोस्रोपटक भने प्रतिस्पर्धामा एमाले एकातिर र ५ दलीय महागठबन्धन अर्काेतिर थियो । त्यसमाथि वैकल्पिक राजनीतिक धारका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको जगजगी पनि । त्यसका बाबजुद चुनाव जितेर पहिलोपटक रवीन्द्रको विरासतमा चुनाव जितेको भन्ने आरोपलाई खण्डित गर्न विद्या सफल भइन् । तिनै विद्यालाई पार्टी सांसदको मात्रै भूमिकामा रहन दिएन, मन्त्री बनायो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते सोमबार पद तथा गोपनियताको सपथ लिएपछि गरेको मन्त्रिपरिषद गठनमा विद्यालाई शिक्षा मन्त्रीको जिम्मेवारी दिएका छन् । शिक्षण (प्राध्यापन) छाडेर राजनीतिमा पुनरागमन गरेकी विद्यालाई उनको अनुभवकै क्षेत्रको जिम्मेवारी परेको छ । एक प्राध्यापकका रुपमा उनी समाजशास्त्र, मानवशास्त्र अध्यापनमात्रै गर्थिनन्, उनको विशेष रुचि रिसर्चमा थियो ।
सक्रिय राजनीतिमा देखिइनन् । तर पार्टीको बुद्धिजीवी फाँटमा रहिन् । बौद्धिक खुराँक बाँडिन् । रिसर्च र अध्ययनमा रुचि राख्ने उनलाई त्यही फाँट ठिकै लाग्थ्यो, सक्रिय राजनीतिमा रुचि थिएन । दोस्रोपटक पनि आमनिर्वाचन लडूँला भन्ने पनि सोचेकी थिइन् । मतदाताहरुसँग सम्बन्ध र सम्पर्कमा थिइन् । पार्टीका कार्यक्रममा सक्रिय थिइन् । तर, पार्टीभित्रका गुटउपगुटमा लागिनन् ।
कुन गुटमा लाग्दा के फाइदा हुन्छ भन्ने सोचिनन् । फेरिफेरि टिकट पाउने, उम्मेदवार बन्ने, चुनाव जित्ने, सांसद अनि मन्त्री बन्ने मनोकांक्षा नै पालिनन् । मन त उनलाई पढ्ने थियो । २०७९ को चुनावको टिकट वितरणअघि पार्टी अध्यक्ष केपी ओली स्वयंसँग राजनीति नगर्ने इच्छा राखेकी थिइन् । तर ओलीलाई भने उनी नै कास्की २ मा चुनाव जित्ने उम्मेदवार हुन् भन्ने ठहर थियो । नमागेको टिकट पाइन् । चुनाव पनि जितिन् । सांसद भएपछि ओलीले प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार पनि बनाए । तर हारिन् । अहिले फेरि ओलीले आफ्नो मन्त्रिपरिषदको महत्वपूर्ण मन्त्रालयको बागडोर विद्याको हातमा दिए ।
विद्यार्थी राजनीति गर्दा गर्दै २०५५ सालमा अनेरास्ववियुको सचिवसम्म भएकी थिइन् विद्या । रवीन्द्र अधिकारी भने अध्यक्ष नै भए । अधिकारी त ५६ मै आमनिर्वाचन पहिलोपटक लडे । २०२९ सालमा काठमाडौंमा जन्मिएकी विद्यालाई भने पोखराका रवीन्द्रसँग लगनगाँठो बाँधेदेखि राजनीतिसँग सम्बन्ध विच्छेद जस्तै भएको थियो । कालन्तरमा उनी नै राजनीतिमा आउनुप¥यो । जसै चुनाव जितिन् । त्यसपछि उनलाई लाग्यो, कास्कीकी छोरी भएँ ।
धेरै नबोल्ने तर जति बोल्ने उत्ति गहकिला विचार राख्ने स्वभावकी विद्यालाई केपी ओलीले मन्त्री बनाउने गाइँगुइँ त सत्ता गठबन्धन फेरिएसँगै चलेको थियो । थुप्रै सांसद मन्त्री बन्न पाऊँ भन्ने पनि थिए । विद्याले भने भो नबनाउनु पनि भनेकी थिइन् । मन्त्री हुन्न पनि भनिन् । तर पार्टीले जिम्मेवारी दिने निर्णय गर्यो, त्यसलाई असली कम्युनिस्ट सिपाहीका नाताले स्वीकारिन् ।
यसअघि रास्वपाकी सुमना श्रेष्ठ थिइन् शिक्षा मन्त्री । उनले केही परिवर्तनको छनक दिन खोजेको सन्देश जनमानसमा छ । विद्याले परिवर्तनको छनक दिएर पुग्दैन, केही गर्नुपर्ने चुनौती पनि छ । त्यसो त विद्याले उही आफ्नै विनम्रशैलीमा पद र प्रतिष्ठालाई क्षणिक र कीर्तिलाई दीर्घकालीन बताउने गरेकी छन् । कीर्ति कस्तो रहन्छ, त्यो समयको गर्भमा छ ।
तर उनी विनयशील छिन्, र उत्तिकै जिम्मेवार पनि भन्नेचाहिँ मन्त्री बन्ने चर्चा चल्नासाथ उनले फेसबुकमा लेखेका हरफ काफी छन्—‘प्राप्ति र शक्तिको भाष्य नै सफलता हो भन्ने, बुझाइ रहेको बेला त्याग, सपर्पण र संवेदनशीलतामा त्यति विश्वास नलाग्न सक्छ तर सत्यता भने अन्त्यमा त्यही नै छ । अरु सबै समयका क्षणिक उपलब्धि मात्र हुन् तर सिंगो जीवनको सन्तुष्टि होइनन् ।’









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया