गण्डकीमा विदेशी पर्यटक औसत १२ दिन बस्दा दैनिक ६३ डलर खर्च

पोखरा । गण्डकीमा पर्यटकको आगमन, बसाइ र खर्चका बारेमा अनुमानित तथ्यांक प्रयोग भइरहेका बेला नेपाल राष्ट्रले त्यसबारेमा अध्ययन गरेको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययनको निश्कर्ष शुक्रबार सार्वजनिक गरिएको छ । जस अनुसार गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको औसत बसाइ अवधि १२ दिन छ । पर्यटकको नेपालमा औसत बसाइ २२ दिन रहेकोमा त्यसमध्ये १२ दिन गण्डकीमा बस्ने गरेको पाइएको हो । यहाँका ११ जिल्लामध्ये मनाङमा सबैभन्दा बढी दिन पर्यटकले बिताउने गरेका छन् ।
प्रति पर्यटक दैनिक खर्च ८ हजार ३ सय ५५ रुपैयाँ २८ पैसा (अमेरिकी डलर ६२.८०) छ ।
अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्ष विश्वका विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक छन् ।
गण्डकी आउने विदेशी पर्यटकमा ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३ प्रतिशत छन् भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका १.५ प्रतिशत छन् । यस्तै, सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने गरेका छन् । साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने पर्यटक ४९.१८ प्रतिशत रहेका छन् भने व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत छन् ।
गत वर्ष गण्डकीमा पहिलो पटक आउने पर्यटक ६८ प्रतिशत रहँदा ३२ प्रतिशत भने एक पटकभन्दा बढी आइसकेको वर्गमा परेका छन् । यस्तै, एकल भ्रमण गर्ने पर्यटक ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया