जन्मदिनमा शैक्षिक सामग्री वितरण

पोखरा ।
समाजसेवी विश्वमोहन गौचनले ८५ औं जन्मदिन शैक्षिक सामग्री हस्तान्तरण गरेर मनाएका छन् । गौचनले अन्नपूर्ण गाउँपालिका ३ मा अवस्थित पाउँदुर आधारभूत विद्यालयका विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
गौचनले आफूले २०१६ सालमा खाली चौरबाट शिक्षण सुरु गरेको विद्यालय कस्तो अवस्थामा होला भन्ने मनमा जिज्ञासा भए तापनि आज ६५ वर्षपछि सुविधा सम्पन्न अवस्थामा देख्न पाउँदा ज्यादै खुसी लागेको बताए ।
उनले शिक्षकको एउटै उद्देश्य आफ्ना विद्यार्थी अब्बल बनून् भन्ने हुने र त्यो चाहना पूरा हुँदा जीवन नै धन्य हुने धारणा राखे । गौचनका विद्यार्थी प्राध्यापक टेकबहादुर गुरुङले माटोले पोतेको चौरमा एउटा भोटो लगाएर पढ्न पाउँदाको स्मरण गर्दै आफ्ना गुरुलाई सोही विद्यालयमा दीर्घायुको कामना गर्न पाउँदा ज्यादै गौरवबोध भएको बताए ।
शिक्षासेवी तथा पूर्ववडाध्यक्ष चन्द्रबहादुर गुरुङले विगतलाई स्मरण गर्नु नै अग्रजको सम्मान रहेको बताए । पत्रकार असफल गौतमले शिक्षाका लागि राज्यको ठूलो बजेट लगानी भए तापनि जागिर सरकारी, सेवासुविधा निजीका पछाडि दौडने मानसिकताले सरकारी विद्यालयमा विद्यार्थी संख्या न्यून रहेकाप्रति चिन्ता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक वसन्ती देवकोटाले विस्थापित हुन लागेको विद्यालयलाई पुनःस्थापित गर्नका लागि सिंगो समुदाय र पालिका लागेको बताइन् । उनले गौचनले पोखराबाट पैदल आएर शिक्षाका लागि बालेको ज्योति आज पनि जाज्वल्यमान बनेको बताइन् ।
समारोहमा समाजसेवी मैता गुरुङ, सिर्जना आमा समूहकी अध्यक्ष सुशीला पौडेल, शिक्षक जनक पौडेल, मिठु कुँवर, सरस्वती परियार, सीता विक, देवी गौतम अधिकारी, रीता पौडेल, अमृता परियारलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक तथा सूचना अधिकारी राम अधिकारीले ५ कक्षासम्म अध्यापन हुने विद्यालयमा हाल ८० जना विद्यार्थी रहेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले विद्यालयप्रतिको माया र सद्भाव निरन्तर रहोस् भन्दै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।









तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै पोखरा महानगर
गण्डकी प्रदेश सभा सामाजिक विकास तथा कृषि समितिको बैठक सोमबार
मुक्तिनाथ विकास बैंक २० औँ वर्षमा, कृषिमा लगानी बढाउन ‘एग्रिफाइनान्स ३६०’ कार्यक्रम
जयलक्ष्मीका सिइओ सुशील केसी सम्मानित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया