प्रादेशिक कानुन बनाउन सघाउने वाचा

समाधान संवाददाता २०८१ साउन २२ गते १०:४१

पोखरा ।
अपांगता भएका महिलाको सशक्तीकरणका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले अन्तक्र्रियात्मक कार्यशाला गरेको छ । अपांगता समावेशी विकासका लागि आम महिलासँगै अपांगता भएका महिलाको क्षमता अभिवृद्धि गर्न कार्यक्रम गरेको संस्थाका महासचिव अञ्जना केसीले जानकारी दिइन् ।

Advertisement


मोबिलिटी इन्टरनेसनल युएसएका विषय विज्ञ मिस लिडिया सुलाले अपांगता भएका महिलालाई सशक्त बनाउन समयसापेक्ष शिक्षा आवश्यक भएको बताइन् । ‘ज्ञान सीप र शिक्षा प्राप्तिले आत्म विश्वास बढ्नुका साथै नेतृत्व विकासमा मद्दत पुग्छ,’ उनले भनिन्, ‘महिला सशक्त भएमा अपांगताको अधिकार प्रवद्र्धन र वकालतका लागि सहयोग पुग्नेछ ।’ उनले राज्यका नीति निर्मातासँग प्रभावकारी सञ्चार गर्न, सचेतना, सहयोग समर्थन बढाउनका लागि प्रभावकारी विधि अपाउनुपर्ने सुझाव दिइन् ।


अर्का विज्ञ मिस युमी सेराले सञ्जालीकरण, साझेदारी र कार्ययोजना निर्माणबारे प्रकाश पारिन् । विषय विज्ञ र सहभागीबीच भएको अन्तक्र्रियामा उनले समुदायको भावना सिर्जना गर्नुका साथै सञ्जालीकरण र अपांगता भएका महिलाले सामना गर्नुपरेका चुनौतीहरुको समाधान गर्न साझा रणनीति निर्माण गर्नुपर्ने विचार राखिन् ।

Advertisement


मोबिलिटी इन्टरनेसनल युएसएका विषयविज्ञ मिस मेगन पट्रिन्गेल्लीले महिलाको नेतृत्व विकासका सवालमा अपांगता भएका महिलाका लागि आवश्यक पर्ने मार्गदर्शक सिद्धान्तको बारेमा सप्रसंग व्याख्या गरिन् । विषय विज्ञ मिस सुजन हेंडरसनले अपांगता भएका महिलाको नेतृत्व विकास र अपांगता अधिकारको सक्रियताका बारेमा अनुभव राख्दै समुदायमा जाँदा सशक्त भूमिका निर्वाह गर्न सुुझाव दिइन् ।


स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका महासचिव अञ्जना केसीले संस्थाले गरेको अपांगतासम्बन्धी प्रादेशिक ऐन तर्जुमा प्रक्रियाको बारेमा जानकारी दिइन् । उनले अपांगता भएका व्यक्तिलाई हिंसा शोषणबाट सुरक्षित राख्न गरेका प्रयासबारे चर्चा गरिन् । हिंसामा परेका महिलालाई कानुनी सहायता र सुरक्षित आवास गृह निर्माणका लागि भएका प्रयासको बारेका उनले उल्लेख गरिन् ।

Advertisement


मोबिलिटी इन्टरनेसनल युएसएको टोलीले प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास तथा कृषि समितिले अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी प्रादेशिक ऐन निर्माणमा खेल्न सक्ने भूमिकाबारे अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा ऐन निर्माण सहजीकरण समितिका सदस्य खोमराज शर्माले अपांगता समावेशी विकासका बारेमा बोलेका थिए ।

अमेरिकी विशेषज्ञ मिस लिडिया सुला, मिस मेगन पट्रिन्गेल्ली मिस युमी सेराले अमेरिकामा अपांगता भएका व्यक्तिको अगुवाईमा अमेरिकी अपांगता कानुन निर्माण भएको जानकारी दिए । गण्डकी प्रदेश सभाका सदस्यहरुले कानुनलाई अगाडि बढाउन एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएको स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले जानकारी दिए ।


अमेरिकी टोलीले गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विन्दुकुमार थापालाई भेटेर गण्डकी प्रदेशमा अपांगता कानुन निर्माणको बारेका छलफल गरेको छ । मन्त्री थापाले अपांगता भएका व्यक्तिका लागि समान अवसर र पहुँचमा सुधार गर्न कानुन निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।


यसैबीच अपांगता भएका व्यक्तिको पहँुच र समावेशी शैक्षिक रणनीतिको बारेमा टोलीले पोखरा महानगरका मेयर धनराज आचार्य र विभागका प्रमुखसँग जानकारी लिएको छ । मेयर आचार्यले महानगरले प्रवाह गर्ने सार्वजनिक सेवामा अपांगता भएका व्यक्तिलाई समान अवसर प्रदान गर्ने बताए । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको पहलमा पोखरा भ्रमणमा रहेको अमेरिकी टोलीले अपांगता भएका विद्यार्थीले अध्ययन गर्ने अमरसिंह नमुना माध्यमिक विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिएको छ ।


टोलीले विद्यार्थीलाई शैक्षिक सामग्रीको पहुँच सहायक सामग्रीको प्रयोग, ब्रेल लिपिको पाठ्य पुस्तक र विद्यालयको भौतिक पहुँचयोग्यताको बारेका जाँच गरेको संस्थाका अध्यक्ष गुरुङले बताए ।

तपाईको प्रतिक्रिया